सभापति परिवर्तन नभएसम्म कांग्रेस बलियो हुँदैन: डा. कोइराला

मोरङ, ३१ बैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको सभापति परिवर्तन नभएसम्म पार्टी बलियो नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले सोमबार बिराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले पार्टीको सुदृढिकरणका लागि नेतृत्व परिवर्तनको ध्येयका साथ छिटोभन्दा छिटो महाधिवेशन गर्नुपर्नेमा जोड दिएका हुन् ।

जनतामा कांग्रेसप्रतिको सम्मान नघटे पनि नेतृत्वकै कारण निर्वाचन पराजय भोग्नुपरेको उनको भनाइ छ । उनले हारको जिम्मा नलिएर सभापति देउवाले ‘अधिनायकवादी’ चरित्र प्रदर्शन गरेको आरोपसमेत लगाए ।

फरक प्रसंगमा नेता कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिले नेपालको संविधानलाई भारतले स्वीकार गरेको पुष्टि भएको बताए । उनले मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति स्वभाविक भएपनि भारतका प्रधानमन्त्री अघि बोल्नु भने उचित नभएको टिप्पणी गरे ।

नेता कोइरालाले धर्म र राजनीतिलाई नछुट्याए मुलुक अप्ठ्यारो स्थितिमा पुग्ने औंल्याए ।