‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको खेलाडी मनोनयन सार्वजनिक

निलम महर्जन/काठमाण्डौ, ३१ बैशाख । नेपाली खेलकुदकै प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको खेलाडी मनोनयन सार्वजनिक गरिएको छ ।

यसै साता आयोजना हुने एनएसजेएफ स्पोर्ट्स अवार्डमा क्रिकेटले आफ्नो दरिलो उपस्थिति जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आज सार्वजनिक गरेको चार विधाको मनोनयनमध्ये वर्ष उत्कृष्ट महिला खेलाडी बाहेक अन्य सबै विधामा क्रिकेटका खेलाडी तथा प्रशिक्षक पर्न सफल भए । क्रिकेटबाट पनि युवा स्पिनर सन्दिप लामिछाने तीन विधामा मनोनित हुन सफल भएका छन् ।

यस संस्करणको अवार्डमा क्रिकेटर सन्दिप उत्कृष्ट पुरुष खेलाडी, युवा तथा पपुलर च्वाईस गरी तीन विधामा पर्न सफल भएका हुन् । वर्षका उत्कृष्ट पुरुष खेलाडी विधामा सन्दीपसँगै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का पनि परेका छन् । त्यस्तै, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की रहेका छन् ।

त्यस्तै, वर्षका उत्कृष्ट महिला खेलाडी विधामा बक्सिङकी विमला श्रेष्ठ, ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबल टेनिसकी नविता श्रेष्ठ परेका छन् । यस्तै वर्षका उत्कृष्ट युवा खेलाडीमा सन्दीपस“गै क्रिकेटका अर्को युवा खेलाडी दिपेन्द्रसिंह ऐरी परेका छन् । त्यस्तै, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल मनोनयनमा परेका छन् ।

वर्षका उत्कृष्ट प्रशिक्षकमा क्रिकेटबाट दुई प्रशिक्षक परेका छन् । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दास मनोनयनमा परेका छन् । त्यस्तै, फुटबलबाट छिरिङ लोप्साङ गुरुङ, बक्सिङबाट प्रकाश थापामगर र ब्याडमिन्टनबाट जयन्तकुमार श्रेष्ठ मनोनयनमा परेको खेलाडी छनोट समितिका संयोजक राजु घिसिङले जानकारी दिए ।

यसअघि, मञ्चले ‘पिपुल्स च्वाइस अवार्ड’ को मनोनयन सार्वजनिक गरिसकेको छ । जस अन्तर्गत फुटबलका किरण चेम्जोङ, क्रिकेटका सन्दीप लामिछाने, भलिबलका मानबहादुर श्रेष्ठ, टेबल टेनिसका स्यान्टु श्रेष्ठ र गल्फकी प्रतिमा शेर्पा मनोनयनमा पर्न सफल भएका छन् । यस विधातर्फ एसएमएस भोटिङ् र फेसबुक लाइकको बराबर मतभारका आधारमा यस विधाको विजेता घोषणा गरिनेछ ।

यी पाँच विधाबाहेक कार्यक्रममा पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा खेलाडीलाई सम्मानित गरिनेछ । जसमा वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा वर्षका उत्कृष्ट प्रशिक्षकले मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै अन्य विधाका विजेताले ५०/५० हजार नगद हात पार्नेछन् । यसवर्षको स्पोर्ट्स अवार्ड पूर्वनिर्धारित समयभन्दा एक दिन अघि अर्थात जेठ तीन गते काठमाडौंमा हुँदैछ ।