किर्ती आजादको नेपालको सन्दर्भमा आएको धारणा सम्बन्ध बिगार्ने कुत्सित मनसायबाट लक्षित: परराष्ट्रमन्त्री

काठमाण्डौ, ३१ बैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय सांसद किर्ती आजादको नेपालको सन्दर्भमा आएको धारणा सम्बन्ध बिगार्ने कुत्सित मनसायबाट लक्षित भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिंदै उनले यस विषयमा भारत सरकारको ध्यानाकर्षण समेत गराए । जनकपुरलाई भारतमा मिसाएर मिथिला राज्य बनाउन माग गर्दै आजादाले ट्वीट गरेका थिए ।

सांसदहरूले उक्त भनाइप्रति सरकारको धारणा माग गरेका थिए । नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको अधिकार भित्र पर्ने भन्दै उनले कुनै कुटनीतिक सम्झौता गर्दा संघीय सरकारको सहमति लिनु अपरिहार्य हुने बताए । उनले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीको एक्लाएक्लै वार्ता कूटनीतिक प्रचलन भएको स्पष्ट पारे ।

मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्रीको भ्रमणको मिति द्विपक्षीय सहमतिमा तय भएको बताए । उनले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा नागरिक अभिनन्दन गर्नेक्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति पनि संविधान र कूटनीतिक मर्यादाविपरीत भएको स्वीकार गर्दै आइन्दा त्यस्तो गल्ती हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पारे ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले परिवर्तित समयमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाएको पनि धारणा राखे । ज्ञवालीले विगतमा प्रतिबद्धता र कार्यान्वयनको ग्याप रहेको तर अब त्यस्तो नहुने उल्लेख गरे ।