मोदी भ्रमणको विषयलार्इ लिएर सदनमा उठ्यो यस्तो अावाज

काठमाण्डौ, ३१ बैशाख । सत्तारुढ नेकपा एमालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा भएको अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री राउतले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले मुख्यमन्त्री राउतसँग सो अभिव्यक्ति तत्काल सच्याउन पनि गम्भीर ध्यानाकर्षण गराए । उपाध्यक्ष रावलले मोदी भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्ति पनि निन्दनीय भएको भन्दै आपत्ति जनाए ।

बैठकमा कांग्रेसका सांसद अमरेशकुमार सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्य धेरै विषयमा मौन रहेको आरोप लगाए । सांसद सिंहले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला भएको ४६ बुँदे समझदारीका धेरै विषय अहिले उल्लेख नभएकोमा चासो व्यक्त गरे ।

माओवादी सांसद पम्फा भुषालले विराटगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालय हटाउने विषय नउठाइएको, सीमा समस्याको विषय नउठाइएको भन्दै जल्दा बल्दा समस्या बाँकी रहेको बताए । उनले भारतीय सुरक्षाकर्मी नेपाल आएको विषयमा समेत सरकारको जवाफ माग गरिन् ।

उनले नेपालको प्रधानमन्त्रीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको मिति सार्वजनिक गर्दा समेत कुटनीतिक कमजोरी भएको तर्क गरिन् । भुषालले भारतीय सांसद किर्ती आजादाको धारणाको सरकारले खण्डन गर्नुपर्ने बताइन् ।