सराबायास्थित प्रहरी हेडक्वार्टरमा अात्मघाती अाक्रमण, १० घाइते

सराबाया, ३१ बैशाख । इन्डोनेसियाको सराबायास्थित प्रहरी हेडक्वार्टरमा मोटरसाइकलमा अाएका अाक्रमणकारीले अात्मघाती बम विष्फोट गराएका छन् ।

अाक्रमणकारीको समूहमध्येको एक युवती बाँच्न सफल भएको र उनले गराएको अाक्रमणमा कम्तिमा अन्य १० जना घाइते भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । अाइतबार पनि सो सहरस्थित तीनवटा चर्चमा अात्मघाती अाक्रमण गरिएको थियो ।

अाइतबार चर्चमा भएको अाक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो । उक्त अाक्रमणमा कम्तिमा १३ जना मारिएका थिए भने ४० भन्दा बढी घाइते भएका थिए ।

लगातार भइरहेको अाक्रमणका घटनाहरूलार्इ मध्यनजर गरी सराबाया सहरको सुरक्षाका लागि ठूलो संख्यामा सैनिक बलसहितको प्रहरी खटाइएको अधिकारीहरूले जनाएका छन् ।

केही दिनअघि  इस्लामी चरमपन्थी बन्दी र सुरक्षा बलबीच भएको मुठभेडमा पनि ५ सैनिकको मृत्यु भएको थियो ।