एमाले नेता गरिमा शाहद्वारा अग्निपीडितलार्इ रू ५० हजार बराबरको राहत वितरण

यज्ञराज उपाध्याय/टीकापुर, ३१ बैशाख । कैलालीको टीकापुरमा अग्निपीडित परिवारलाई आइतबार एक कार्यक्रमका बीच नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व सांसद गरिमा शाहद्वारा नगद र जिन्सीसहित पचास हजार बराबरको राहत सहयोग वितरण गरिएको छ ।

टीकापुर नगरपालिका वडा नम्बर ६ पर्सेनीमा गत बैशाख १२ गते राती भएको आगलागीबाट घरायसीसहित सबै सामनहरू नष्ट भएका परिवारका ३ जना बालबालिकालाई सहयोग गरिएको हो । भर्खर पढ्दै गरेका बालबालिकाको आगलागीमा परेर सबै किताबकापीहरू लगायत घर नै पूर्ण रूपमा नष्ट भएपछि सबैबाट सहयोग संकलन गरेर आइतबार हस्तान्तरण गरिएको हो ।

साईकल, पलङ्ग, खाद्य सामाग्रीसहित १५ हजार आर्थिक रकम सहयोग गरिएको थियो । पीडित साबित्रा शाहलाई सहयोग रकम हस्तान्तरण गर्दै सहयोगी गरिमा शाहले पढ्दै गरेका विद्यार्थी नानीहरूको जीवन उज्ज्वल बनाउनका लागि पहल गरिरहने बताइन् । १६ वर्षीया बिजेता शाह, १४ वर्षीया बिनिता शाह र ७ वर्षीया गरिमा शाहलाई पढाउनका निमित्त पहल गरिनेसमेत शाहले बताइन् ।

अग्निपीडितलाई २८ हजार १ सय २० बराबरको सहयोग गरिएको हो भने शाहकै पहलमा सांसद बिन्दा पौडेलले ७ वर्षीया बालिकालाई दिनका निम्ति ५ हजार पठाएको बताइन् ।