Breaking News

लुगा फाटे सिउने, मन फाटे पिउने

संकेत कोइराला
हिउँजस्तै बकुल्लो देखेपछि एउटा कालो कागलाई खपिनसक्नु पीडा भएछ । उसले बकुल्लालाई भेटेर सुन्दर भएकोमा बधाई दिँदै आफू कालो र कुरुप हुनुको दर्द पोखेछ । कागको कुरा सुनेर बकुल्लाले गुनासो गर्दै भनेछ– ‘मयूर नदेखेसम्म त मलाई मेरो सौन्दर्यमा घमण्ड थियो । तर जब उसलाई भेटें, त्यसपछि भने मभित्रको त्यो दम्भ चकनाचूर भयो ।’ उसले चिडियाघरमा मयूरसंग कागको भेट गराइदिएछ । नौरंगमा सजिएको मयूर आफ्नो पखेटा फिँजाएर नाच्दा संसारको सौन्दर्य पृथ्वीमा पोखिएजस्तो भान पर्थ्यो । मयूरको अद्भूत लीलाबाट तरंगित कागलाई उभित्रका सुन्दर जीवन भोगाईका अनुभव सुन्ने लोभ जाग्यो । आनन्दका कति अनुभूति होलान् भनेर प्रशंंसाको पुल बाँध्यो । कागको बखान सुनेर मयूर खुसी हुनु सट्टा स्तब्ध भएर बर्बर आँसु झार्दै भन्छ– ‘तिमीले बाहिरबाट हेर्दा जति मलाई सुन्दर देख्दछौ, मभित्र छट्पटीका थुप्रै वेदना छन् । तिमी देख्दा कालो भएपनि स्वतन्त्र छौ । म सुन्दर भएकै कारण जिन्दगीभर कैदी जीवन बाँच्न बाध्य छु । मेरो दैनिकी अरुको खटनपटनमा बित्छ । दिए खान पाउँछु , नदिए भोकै बस्नुपर्छ । अरुका लागि खुसी भएको नाटक गर्नुपर्छ । यस्तो नारकीय जीवनभन्दा तिमीले भोगेको खुल्ला संसार लाखौं गुना अब्बल छ । त्यसैले आफूले पाएको जीवनप्रति गर्व गर । अरुसंग आफूलाई तुलना नगर । तिमीभन्दा सुखी मैले संसारमा अरु कोही देखेको छैन ।’ मयूरको अनुभव सुनेपछि संसारको सुखी र सुन्दर प्राणी आफैं रहेको निष्कर्ष निकालेर काग फर्कियो ।

संसारमा गफ जोतेर लाउन, खान पुग्ने मुलुक कुन हो ? यदि यो प्रश्न सोधियो भने नर्सरीका बच्चाले पनि एक सेकेन्ड नरोकिई उत्तर दिने छन्– नेपाल । विश्वका जुनसुकै मुलुक डुले, घुमेपनि अन्ततः नेपाली त्यो काग हुन्, जसले आफूलाई सुखी र खुसी प्रमाणित गरेरै छोड्छ । हुनपनि संसारमा अरु वनस्पति, जीवजन्तु घटेका घटेकै छन् तर कागको संख्या बढ्दो छ । नेपाली यस्ता भाग्यमानी नागरिक हुन्, जसको पुर्पुरोमा ‘श्री’ मात्र लेखिएको छ । राष्ट्रपति, प्रधानमन्त्रीदेखि वडा सदस्यसम्मको दैनिकीमा गफ, अर्ती, बुद्धिबाहेक केही छैन । देश चलाउने मुखियाहरू दैनिक तीनवटा सार्वजनिक कार्यक्रममा सक्रिय सहभागी हुन्छन् । मुख्यसचिव, सचिव, सहसचिवदेखि चौकीको हवल्दारसम्मलाई बैठक गर्न भ्याइनभ्याइ छ । सामाजिक सञ्जालमा देश चलाउनेहरूको भीड थामिनसक्नु छ । देशबाहिर गएका चालीस लाख नेपालीको काम नमागेको अर्ती बुद्धि दिएर देश विकासमा सघाउनु रहेको छ । फेसबुकका भित्ता भित्तामा स्वघोषित नारायणगोपाल, तारादेवी, अरुणा लामा, नीतिको पाठ सिकाउने विदुर, चाणक्य, दानवीर कर्णहरू जन्मिएका छन् । खाडीमा गएपनि घरमा डेढ लाखको आईफोन पठाएका छन् । सन्तान अंग्रेजी फरर्र बोल्ने बोर्डिङमै पढाएका छन् । नेपालमा बस्नेहरू रोजेको भट्टीमा चलेकै ब्रान्डको झोलमा रमाएका छन् ।

नेपालीको ज्ञान र चासो कतिसम्म बृहद छ भने डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन र नरेन्द्र मोदीसम्मको चिन्ताले उनीहरू पिरोलिएका छन् । अघिल्ला अमेरिकी राष्ट्रपति बाराक ओबामाकी तरुनी छोरी र श्रीदेवीको अभावमा उनका दुई छोरीको भविष्यलाई लिएर नेपाली युवाभित्र चिन्ताको आयतन बढेको देखिन्छ । नेताहरू आर्थिक समृद्धि सूत्र लिएर माला, खादा, अविर, मायाको चिनो र अभिनन्दनमा रमाइरहेकै छन् । ठूलो मान्छे भएपछि राम्रो देखिनुपर्छ भन्ने मनोविज्ञानले होला, कपडा पसलका थानै रित्याएर सिलाइएका लुगा दिनैपिच्छे फेर्छन् । उत्ताउलिएको मनोविज्ञान र शरीरको बनोटले स्वीकृत नदिएको जबर्जस्त राम्रोबीच तालमेल नखाएको स्पष्ट देखिन्छ । निर्देशन नदिए ओहोदाको मूल्य नहुने भएकाले तेल, रेलसंगै झेल, आदेश र निर्देशन नित्य अनि दिव्य कामभित्र परिहाल्यो ।

राजनीतिज्ञ अब्बल ठहरिने उसको भिजनले हो । मानिसको सुन्दर कवच मुस्कान हो । अरुलाई उज्यालो छर्ने यात्रामा हिँडेको मानिसका लागि त्यही उज्यालोभित्रको सानो प्रकाश बाँच्नका लागि काफी हुन्छ । नूनको तातो लाग्नुपर्ने देशमा सुनैसुनको समाचारले मिडिया धपक्कै बलेको छ । सत्य, सेवा, सुरक्षणंको कसम खाने पुलिसका सारथीहरू सुन तस्करीको नाइके प्रमाणित भएका छन् । यी सबै बेथितिका बाबजुद् पनि अधिकांश नेपालीले मीठै खाएका छन् । राम्रै लाएका छन् । विकसित देशका जनताका लागि एकादेशको कथा बन्ने घरजग्गा, जमिन र अलिकति अन्न नेपालीको जन्मसिद्ध अधिकारभित्र पर्ने गरेको छ ।

भारतभित्र महाभारत छ । जहाँ लाखौं किसान बैंकको ऋण तिर्न नसकेर मर्छन् । बाउबाट छोराछोरी असुरक्षित छन् । दाइजो प्रथा हिलोमा गाडिएको किलो झैं यसरी भासिएको छ कि करोडौं बाँचेर मरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अर्थतन्त्रमा भारतलाई अब्बल बनाएपनि सामाजिक चेतनामा भारतभन्दा हामी लाख गुना माथि छौं । त्यो भूमिमा कास्मिरबाहेक अरु कुरामा भारतीयले भारतीयलाई विश्वास गर्दैन । भारतभित्र दर्जनौं देश छन् ।

विश्वको समृद्ध मुलुक अमेरिका जहाँ बिग्रिएको गँजडी छोरो पेस्तोल बोकेर स्कुलको कक्षा कोठामा निर्दोषमाथि गोली बर्साउँछ । हतियारको होडमा उन्मत्त भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम एक अर्कालाई ‘मोटे’ र ‘बुढो’ भनेर भद्दा मजाकमा रमाउँछन् । युरोपेली मुलुक जहाँ दुईघन्टा न्यानो घाम लाग्दा त्यहाँका बासिन्दाका लागि दशैं आएजस्तो हुन्छ । ती देशमा ५० वर्षमा बढ्ने बनस्पति हाम्रोमा पाँच वर्षमा हुर्कन्छ । नेपाल त्यो सक्कली फूल हो, जसमा अत्तर छर्कन जरुरी छैन । खाँचो व्यवस्थापनको हो । एउटा लुगा सुकाउने डोरी पछ्याउँदै लहराएको करेलाको दानो महिनौंको भोक मेटाउन काफी छ । छतमा रोपिएका गमलाका तरकारीले परिवारलाई आत्मनिर्भर बनाएको छ । खाडीबाट अपाङ्ग शरीर लिएर आएकाले रोपेको टमाटर र काउली अर्गानिक खेतीको नमूना बन्छ । यो भन्दा समाज निर्माणको सजिलो अर्थशास्त्र कहाँ हुन्छ ?

अलिकति जमिन खोस्रिने वातावरण बन्न बित्तिक्कै नेपाली सुखी हुन एक वर्ष पनि लाग्दैन । त्यसैले नेपालमा अब विकासको ढाँचामा आमूल परिवर्तन जरुरी छ । ह्याङ भएको कम्प्युटरजस्तो सोचलाई समयसापेक्ष बदल्न जरुरी छ । नागरिकले सामाजिक सुरक्षालाई महत्व दिएका छन् भने राज्य सञ्चालकहरूले दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । जमिन बाँझो राखेर खाडी धाउने एकातिर बढ्दैछन् भने अर्कातिर हजार म्यादी पुलिस खुल्दा लाखौं युवा लाइनमा खडा छन् । यस्तो दृश्य देखेपछि सीपलाई व्यारेकीकरण किन नगर्ने ? छानो छाउने सिपाही, सिकर्मी हवल्दार, डकर्मी जमदार, जुत्ता टल्काउने असई, ईंटा पार्ने सई, ढलान गर्ने ईन्सपेक्टर किन नजन्माउने ? यदि यो बीउ रोपियो भने भूइँचालो गएको तीन वर्षपछि अंकको कागजी ओढ्ने, ओछ्याउनेमा रमाउनु पर्दैन ।

जनतालाई चाहिएको उनीहरूको आईफोनमा रिचार्ज गर्ने उद्यम हो । मार्क्सवाद, लेनिनवाद, माओवाद, बीपीबाद नभएर मानवतावाद आजको आवश्यकता हो । अर्जेन्टिनाको मकैले भोक मेटिएकै छ । ब्राजिल र रुसको तोरीले खोकनाको ईज्जत धानेकै छ । डीडीसीको छुर्पी, चीज सोलुमा कोसेली बाँधिएर गएकै छ । इन्डियागेटमा उभिएर खिचिएका सेल्फी र इन्डियागेट चामलको भीड नेपालमा बढेकै छ । भारतीय पाउडरबाट बनाइएको डीडीडीसीको दूधले भक्तपुरको जुजु धौ चलेकोलाई अर्गानिक उत्पादन ठान्ने हो भने त त्यो स्वतन्त्रता नेपालीले पाएकै छन् । सुधार गर्नुपर्ने प्राथमिकताका विषय रेलभन्दा पहिला यी चाहिँ हुन । एउटा चिनियाँ उक्ति छ– ‘शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छ । शिक्षक दौडियो भने विद्यार्थी हिँड्छ । शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ । शिक्षक बस्यो भने विद्यार्थी सुत्छ । शिक्षक सुत्यो भने विद्यार्थी मर्छ ।’ हामी दूध बेच्नु अपराध हो भन्ने नेपाली समाजबाट निसृत प्राणी हौं । पानीको पनि किनबेच होला भनेर त अघिल्लो पुस्ताले सपनामा पनि सोचेको थिएन । तर चलनमै आएपछि त त्यही स्वाभाविक बन्यो । बरु नकिनिएको पानीमा विश्वास हुन छोड्यो ।

नेपालीलाई भाग्यले ठगेको होइन । नेताले ठगेको हो । उनीहरूलाई भाग्यसंगभन्दा पनि नेतासंग गुनासो छ । राणा, पञ्चायत, बहुदल, गणतन्त्र हुँदै मुलुक संघीयता पुगेर पनि हरियो बत्ती नबलेपछि फेरि ज्ञानेन्द्र र पारसचक्रमा बिसाउने तर्क कुतर्कले ठाउँ पाउने गरेको छ । यदि यस्तो हो भने पुस्तौं पुस्ताले पाएको गोताको क्षतिपूर्ति कसले भर्छ ? लुगा फाटे सिउने, मन फाटे पिउने सधैंको समाधान होइन । राष्ट्रियताका बकबास अब बन्द गरौं । यो त पान खाएर पिच्च थुक्याभन्दा पनि सस्तो भयो । घरघरमा प्रेम बढाऔं, राष्ट्रियता आफैं मजबुत हुन्छ । अरुको हैन, आफ्नो चिन्ता गरौं । यसो भयो भने त्यो परिवार, समाज हुँदै देशमा फैलिन्छ । अब एकमात्र विकल्प भने आईडियाले खाईडिया गर्ने हो । अफ्रिकामा सुन छ । तर अरु देशका डन बसेर सुनको मोलतोल गरिरहेका हुन्छन् । कतै नेपालको सेतो सुन मानिने पानी अधिकार अरुको, तिर्खा हामीमा सीमित त हुने होइन ?

sanketkoirala07@gmail.com

यो पनि पढ्नुहोस्-

वामपन्थी भर्सेज दामपन्थी

shares