बेइजिङमा फोटो पत्रकार श्रेष्ठको एकल फोटो प्रदर्शनी

बेइजिङ, ३० बैशाख । फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले चीनको राजधानी बेइजिङमा एकल फोटो प्रदर्शनी गरेका छन् ।

बेइजिङको नानछेन रोड, नान फासिनचन, शुनयीस्थित रिसर्च एण्ड ट्रेनिङ ईन्स्टिच्यूटमा मिडिया र प्रेससम्बन्धी चीन सरकारको तालीम र प्रशिक्षण केन्द्रमा उक्त प्रदर्शनी गरिएको हो । श्रेष्ठ राष्ट्रिय समाचार समितिका फोटो पत्रकार हुन् ।

उक्त प्रदर्शनी ‘डिजिटल डिस्प्ले’ मार्फत गरिएको हो भने फोटो पत्रकार श्रेष्ठका तीन दर्जनभन्दा बढी फोटो प्रदर्शनीमा राखिएका छन् । श्रेष्ठ चीन सरकारको निमन्त्रणामा नेपालका विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ सञ्चारकर्मी सम्मिलित प्रशिक्षण टोलीसँगै चीन पुगेका हुन् ।

फोटो प्रदर्शनी लोकप्रिय रहेको र प्रदर्शनीका माध्यमबाट चिनियाँ जनतालाई नेपालको कला, संस्कृति, जीवनशैली, पर्यटकीय क्षेत्र तथा नेपाल चीन सम्बन्धका बारेमा थप कुरा जान्न सहयोगी हुने नेपाल पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झाले बताए ।

फोटो प्रदर्शनी आगामी जेठ ६ गतेसम्म हुने फोटो पत्रकार श्रेष्ठले जानकारी दिए ।