इन्डोनेशिया: चर्चमा अाक्रमण हुँदा ९ जनाको मृत्यु

इन्डोनेशिया, ३० बैशाख । इन्डोनेशियाको दोस्रो ठूलो सहर सराबायास्थित तीन चर्चमा भएको अात्मघाती हमलामा कम्तिमा ९ जनाको ज्यान गएको छ ।

उक्त अाक्रमणमा अन्य ४० जना घाइते भएको पनि जनाइएको छ । स्थानीय समयानुसार बिहान साढे सात बजे भएको सो अाक्रमणको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन ।

टेलिभिजनमा प्रसारण गरिएका तस्वीरमा चर्चको प्रवेशद्वारमा छरपस्ट भग्नावशेष देख्न सकिन्छ । सबैभन्दा बढी मुस्लिम जनसमुदाय भएको देश इन्डोनेशियामा केहीदिनयता इस्लामी चरमपन्थी फेरि जुर्मुराउँदै गरेको पाइन्छ ।

यहाँको गुप्तचर संस्थाले बताएअनुसार इस्लामिक चरमपन्थी गुट ‘जेमाह अंशारुत दौलाह’ले उक्त अाक्रमण गराएको हुन सक्ने अांकलन गरेको छ । सो गुट स्लामिक स्टेट अर्थात् अार्इएस-अभिप्रेरित गुट भएको मानिएको छ ।

केही दिनअघि  इस्लामी चरमपन्थी बन्दी र सुरक्षा बलबीच भएको मुठभेडमा ५ सैनिकको मृत्यु भएको थियो ।