‘कामना फिल्म अवार्डस् २०७५’ का लागि अावेदन खुल्यो

काठमाण्डौ, २८ बैशाख । नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक ‘कामना’ले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सीजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको ‘कामना फिल्म अवार्डस् २०७५’ मा सहभागिताका लागि आवेदन खुला गरेको छ ।

कामनाको प्रकाशन संस्था कामना न्युज पब्लिकेसन्स्ले चौथो संस्करणको कामना फिल्म अवार्डस्–२०७५ का लागि निःशुल्क आवेदन खुला गरेको हो। कामना फिल्म अवार्डस्–२०७५ मा २०७४ साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक सिनेमा हलमा प्रदर्शनमा आएका फिल्मले सहभागिता जनाउन सक्ने जनाइएको छ ।

सम्मान चलचित्रको: उत्सव उत्कृष्टताको भन्ने मान्यताअनुसार नेपाली फिल्म क्षेत्रको महाउत्सवका रूपमा उक्त अवार्ड वितरण कार्यक्रम हुँदै अाएको छ । अवार्डका लागि हरेक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्यांकन मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्यांकन गर्नेछ।

त्यसै गरी फिल्म क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली फिल्म क्षेत्रको विकासमा योगदान पुर्याउने एक–एक जनलाई जनही १ लाख रूपियाँ नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिँदै आएको छ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गर्ने गरिन्छ । संगीत, फेसन र नाट्य विधामा सीजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ ।

लक्स कामना फिल्म अवार्डसमा २०७३ सालबाट बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएसँगै गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाइस अवार्डसमेत थपिएको छ । यो विधा थपिएसँगै अवार्ड समारोहमा ३२ विधामा अवार्ड प्रदान गरिन्छ ।