ओलीले प्रचण्डलाई सेरोमोनियल अध्यक्ष बनाएको गुरुङको आरोप

भक्तपुर, २८ बैशाख । नेकपा माओवादी केन्द्रका सचिव देव गुरुङले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई सेरोमोनियल अध्यक्ष बनाएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले सरकारको क्याबिनेटबाट गरिने निर्णय बाहेक सत्ता साझेदार रहेको दल माओवादी केन्द्रका अध्यक्षसँग कुनै परामर्श नगरी जुन महत्वपूर्ण खालका निणर्यहरू भएका छन् यसले प्रचण्डलाई सेरोमोनियल बनाएको आरोप लगाए ।

उनले पार्टी एकिकरणसँगै दुई अध्यक्ष रहने र एकले सकारकारको नेतृत्व गर्ने र अर्कोले पार्टीको नेतृत्व गर्ने सहमति भएपनि पछिल्लो समयमा एमाले अध्यक्ष ओलीले त्यस्तो ब्यवहार देखाउन नसक्दा विश्वासको वातारणमा शंका देखिएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण दुई देशबीचका सम्बन्ध विस्तारको स्वरुप भएको बताउँदै भ्रमणका समय जसरी नेपाली सुरक्षा कर्मीभन्दा भारतीय सुरक्षाकर्मी बढी हुनु कुटनीतिक छलफलको विषयसमेत बनेको उनले बताए ।

एमाले र माओवादी केन्द्र लगायत राष्ट्रवादीहरूको पार्टी एकताका विषयमा प्रत्यक्ष नभएपनि अप्रत्यक्ष रूपमा विदेशी शक्तिहरूका चलखेल भइरहेको बताउँदै यस्ता चलखेलबाट चनाखो रहँदै एकीकरण हुँदै जाने उनको भनाइ छ ।

पार्टी एकीकरणका बारे बाहिर आए जस्तो मिति तय नभएको भन्दै उपयुक्त समयमा संयोजन समितिले निर्धारण गर्ने मितिमा ढिला चाँडो भए पनि पार्टी एकीकरण हुने बताए ।