जनकपुर अोर्लिए भारतीय प्रम नरेन्द्र मोदी, रक्षामन्त्री पोखरेलले गरे स्वागत

जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा ४१ सदस्यीय टोलीको नेतृत्व गर्दै मोदी जनकपुर आइपुगेका हुन् । मोदी नेपालको २ दिने राजकीय भ्रमणका लागि जनकपुर आइपुगेका हुन् ।

एयर इन्डियाको विमानबाट सिधै जनकपुर विमानस्थलमा अोर्लिएका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतले स्वागत गरेका थिए । मोदीलाई स्थानीय साँस्कृतिक झाँकी तथा बाजागाजासहित स्वागत गरिएको थियो ।

भारतीय प्रधानमन्त्री मोदी विमानस्थलबाट जानकी मन्दिरमा हुने पुजाअर्चना तथा अन्य कार्यक्रमका लागि त्यता लागेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले आज संयुक्तरुपमा रामायण सर्किटको उद्घाटन गर्नेछन्।  त्यसपछि मोदीलाई बाह्रबिघा मैदानमा नागरिक अभिनन्दन गरिनेछ। नागरिक अभिनन्दनपछि मोदी आजै दिउँसो १ बजे काठमाडौं आउने छन् ।

मोदीलाई बस्ने व्यवस्था चुच्चेपाटीस्थित होटल हायातमा मिलाइएकोले उनी विमानस्थलबाट सोझै होटल हायात पुग्नेछन् ।होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जाने र त्यहाँ नेपाली सेनाले ‘गार्ड अफ अनर’ अर्पण गर्ने कार्यक्रम छ ।

आजै मोदीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।