सरकारले पूँजी बजार विकासका लागि नियामकलाई सघाउन मात्र सक्ने

काठमाण्डौ, २६ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले पूँजी बजार विकासका लागि नियामकलाई सघाउन मात्र सक्ने बताएका छन् ।

नेपाल धितोपत्र बोर्डले आफ्नो रजत जयन्तीको अवसरमा राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको २ दिने धितोपत्र बजार प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री खतिवडाले पुँजीलाई बैंकको निक्षेपमा राख्दा उचित र सुरक्षित प्रतिफल पाउने बताए ।

डा खतिवडाले सेयर बजारमा लगानी गर्नुअघि धेरै सोचविचार गरेर मात्र लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन् ।

त्यस्तै गभर्नर डा. चिरंजीवि नेपालले पुँजी बजारबिना मुलुकको विकास हुन नसक्ने बताएका छन् । उनले मुलुक विकसित हुनुमा पुँजी बजारको महत्वपूर्ण कारण भएको बताए ।

गभर्नर नेपालले पैसालाई व्यवस्थापन गर्ने र भविष्य सुरक्षित बनाउने आधार पुँजी बजार भएको उल्लेख गरे ।