Breaking News

दुर्इ अध्यक्षबीचको वार्ता सकियो, प्रचण्डले उठाए ट्वीटबारे प्रश्न

काठमाण्डौ, २६ बैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकल वार्ता सम्पन्न भएको छ ।

बुधबार बिहानैबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षबीच घनिभूत छलफल भएको छ । छलफलमा अध्यक्ष प्रचण्डले केही दिनअघि प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डिलबाट भएको ट्विटका विषयमा कुरा उठाएका थिए ।

प्रधानमन्त्रीको ट्वीटले दुई अध्यक्षबीचको सम्बन्धमा चिसोपन अाएको भन्ने अाम चासोको विषयलार्इ दुई अध्यक्षले पुनः मिलाउने कार्य गरेका छन् । प्रधानमन्त्री ओलीले अर्को ढंगबाट ट्वीट गर्न खोजेको तर फरक ढंगबाट हुन पुग्दा समस्या अाएको प्रष्टिकरण दिए ।

‘अर्को ढंगबाट ट्विट गर्न खोजेको तर अर्को कोणबाट साथीहरूले हालिदिनुभएछ’, प्रधानमन्त्री ओलीलाई उदृत गर्दै स्रोतले भन्यो। छलफलमा पार्टी एकता प्रकृया र दुई अध्यक्षको सम्बन्धबारे सामाजिक सञ्जालमा आएका कुराबारे समेत छलफल भएको छ।

सम्बन्ध बिगार्ने गरी संजालमा आएका समाचारबारे समेत समीक्षा गर्दै दुई अध्यक्षले अब सहज ढंगले विषयलाई अगाडि बढाउने सहमति गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

भेटवार्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, पार्टी एकताबारे समेत केन्द्रीत रहेको थियो । त्यस्तै, बैठकमा सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेटबारे पनि छलफल भएको बताइएको छ ।

shares