मोदीको भ्रमणपछि मात्र पार्टी एकीकरण: प्रवक्ता भुसाल

भक्तपुर, २६ बैशाख । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादीबीचको पार्टी एकिकरण प्रक्रियामा ढिलाइ भएको बताएकी छिन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुसालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण दुई पार्टीको एकिकरण प्रक्रियामा ढिलाइ भएको बताइन् ।

पार्टी एकिकरणका विषयमा आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले विलय नभई सम्मानजनक ढंगले दुई पार्टी एकीकरण हुने बताउँदै उनले पार्टी एकता संयोजन समितिले एकीकरणका लागि आवश्यक तयारी गरिरहेको बताइन् ।

अहिले नै सरकारका गतिविधिको समीक्षा गर्ने बेला नभइसकेको भन्दै प्रवक्ता भुसालले सरकारले निर्वाचनको समयमा जनतामाझ लिएर गरेका एजेन्डा अनुसार काम अघि बढाएको बताइन् ।

सरकारले तोकिएकै समयमा बजेट ल्याईसक्ने बताउँदै उनले उक्त बजेट जनमुखी र आर्थिक समृद्धिको खाका भएको बताइन् । कार्यक्रममा बोल्दै प्रवक्ता भुसालले विगतमा जस्तै नभई यो सरकारले कुटनीतिक पाटोलाई देश र समयानुकूल बनाउँदै गएको बताइन् ।