Breaking News

मुनाल क्लबद्वारा यसवर्ष उत्कृष्ट खेलाडीतर्फ राई पुरस्कृत

पंकज शर्मा/झापा, २६ बैशाख । फुटबल खेलाडीको प्रोत्साहनका लागि भद्रपुरस्थित मुनाल क्लब अन्तर्गतको चन्द्रगढी फुटबल एकाडेमीले यसवर्षदेखि एक जना खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडी सम्मान गर्ने कार्यको सुरुवात गरेको छ ।

क्लबमा रहेर खेल क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मुनाल क्लबले यसवर्ष भाईचुङ्ग भन्ने प्रविन राईलाई वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान तथा पुरस्कृत गरिएको हो । क्लबमा आबद्ध भएर विगत ८ वर्षदेखि फुटबल खेल्दै आएका राईलाई एउटा साइकलसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

रार्इलाई भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ र पुरस्कारदाता विजय प्रताप राजवंशीले संयुक्त रूपले सम्मान गरेका थिए । खेलप्रेमी भद्रपुर ७ निवासी राजवंशीले आगामी तीन वर्षसम्म क्लबमा आबद्ध उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गर्ने जनाइएको छ ।

क्लबका प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी यूगलकिशोर राईले खेलाडीलाई प्रोत्साहन तथा सेवा प्रदान गर्न नसक्दा राम्रा खेलाडीहरू विलय हुने अवस्थामा पुगेको जिकिर गर्दै हरेक उत्कृष्ट खेलाडीलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

नगर प्रमुख श्रेष्ठले खेलाडी उत्पादनमा मुनाल क्लबको भूमिका महत्वपूर्ण रहेको बताउँदै यहाँबाट उत्पादित खेलाडी राष्ट्रका लागि खेल्न थालेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा पूर्व फुटबल खेलाडी गणेशराज भण्डारी, क्लबका सचिव केशव मैनाली, झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव टहलदास मैनाली लगायत खेलाडीहरूको उपस्थिति रहेको थियो ।

shares