Breaking News

अोली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता जारी

काठमाण्डौ, २६ बैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा ‘वान टु वान’ वार्ता भइरहेको छ । पार्टी एकता र सरकारले ल्याउने नीति तथा कार्यक्रम एवं अागामी बजेटका विषयमा छलफल गर्न दुई नेताबीच उक्त वार्ता हुन लागेको हो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार बुधबार बिहान साढे ९ बजेबाट दुई नेताबीच वार्ता तथा छलफल भइरहेको छ । करिब सात महिनाअघिबाटै पार्टी एकता प्रकृया अगाडि बढाएको भएपनि दुवै पार्टीको एकता हालसम्म छलफलमै सीमित रहिअाएको छ।

अाजको बैठकमा यस विषयमा पनि छलफल हुनेछ। पार्टी एकता संयोजन समितिले दुई अध्यक्षलाई एकताको टुङ्गो लगाउने जिम्मा दिएपछि पछिल्लो समय दुई अध्यक्षबीच छलफल तथा वार्तामा निरन्तर जुटेका छन् । यद्यपि, एकतामा कतिपय विषयमा सहमति जुट्न भने सकेको छैन ।

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा माओवादीका सांसदहरूले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । ओलीले दुई दिन पहिले गरेको ट्वीटको विषय पनि प्रचण्डले छलफलमा उठान गर्ने सम्भावना रहेको बताइएको छ ।

shares