Breaking News

अन्तराष्ट्रिय थालेसिमिया दिवस नेपालमा पनि मनाइयो

काठमाण्डौ, २५ बैशाख । अन्तराष्ट्रिय थालेसिमिया दिवस नेपालमा पनि जनचेतना मुलुक कार्यक्रम गरी मनाइएको छ ।

दिवसका अवसरमा नेपाल थालेसिमिया सोसाइटीले काठमाडौंमा थालेसिमियालाई नियन्त्रण गर्न जनचेतनामुलुक विचार गोष्ठीको आयोजना गरेको थियो । थालेसीमिया अथवा ‘अपुष्ट रक्तकोष’ रगत सम्बन्धी हुने विभिन्न रोगहरूमध्येको एउटा अति नै असहज वंशाणुगत रोग हो ।

यो तीन महिना देखि ५–६ वर्षसम्म उमेरका बच्चाहरूमा देखिन्छ । थालेसीमियाका फरक फरक प्रकारका कारण यस्तो हुन गएको हो । यस रोगका रोगीहरूलाई बचाउनका निम्ति आजीवन रगत तथा अन्य औषधीहरू दिइरहनु पर्दछ । थालेसीमिया रोग र यसका बिरामीहरूको बारेमा हालसम्म पनि नेपालमा कुनै अध्ययन भएको छैन ।

कार्यक्रममा स्वास्थ्यराज्यमन्त्री पद्मा अर्यालले थालेसिमिया रोगको अध्ययनका लागि नेपालमा पनि पहल सुरु गर्ने बताइन् । उनले रोग लाग्नुभन्दा लाग्नै नदिनका लागि उचित स्वास्थ्य स्याहार गर्नुपर्ने र विपन्न वर्गको स्वास्थ्य स्याहारका लागि सरकारले सहयोग गर्ने धारणा राखिन् ।

नेपालमा थालेसीमिया संवाहकहरूको संख्या कुल जनसंख्याको ४ प्रतिशत रहेको अनुमान गरिएको छ ।

हाल नेपाल थालेसीमिया सोसाईटीमा २२५ जना यस्ता बिरामी दर्ता भएका छन्, तिनमा १३५ जना बिरामीहरूले नियमित रगत चढाइरहेका छन् । संस्थामा आबद्ध भएका बिरामीलाई संस्थाले निःशुल्क रगत तथा रगत चढाउने सेवाका साथै चिकित्सक सेवा पनि संस्थाकै केन्द्रबाट उपलब्ध गराइरहेको जनाएको छ ।

shares