एकताका लागि एमालेसंग ४ वटा विषयमा सहमति भएको हल्ला निराधार- प्रचण्ड

काठमाण्डौ, २५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एकताका लागि एमालेसंग चारवटा विषयमा सहमति भएको हल्लामा सत्यता नरहेको स्पष्ट पारेका छन् ।

सिहदरबारमा मंगलबार बसेको माओबादी संसदीय दल बैठकमा प्रचण्डले आफू र प्रधानमन्त्री केपी ओलीबीच पार्टी एकताका लागि अहिलेसम्म कुनैपनि सहमति नभएको भन्दै समानताकै आधारमा एकता गर्ने पक्षमा रहेको बताएका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले समानतालाई स्वीकार नगरी अघि बढ्न खोजे एकता प्रक्रिया पनि अवरुद्ध हुने उल्लेख गरेका थिए । आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्न बोलाइएको बैठकमा प्रचण्डले घोषणपत्रमा उल्लेखित विषयलाई धेरैभन्दा धैरै समेटेर बजेट निर्माणमा ध्यान दिन पनि माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलार्इ निर्देशन दिएका थिए ।

अहिलेसम्म बजेटका विषयमा आफूहरूसंग छलफल नै नभएको माओवादी मन्त्रीहरूले बताएपछि प्रचण्डले यस विषयमा प्रधानमन्त्री ओलीसंग छलफल गर्ने आश्वासन दिएका थिए । बैठकपछि माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अहिलेको सरकार अरुभन्दा भिन्न भएकाले जनताको अपेक्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्नेमा अध्यक्षको जोड रहेको जानकारी दिए ।

बजेट निर्माणमा प्रदेशका सांसदहरूसंग पनि समन्वय गर्दै अघि बढ्ने र कानून निर्माणका लागि कानूनविदसंग पनि छलफल गर्दै कानून विभाग गठन गर्ने निर्णय बैठकले गरेको गुरुङले जानकारी दिए ।

बैठकले राष्ट्रियसभाको नेतामा दिनानाथ शर्मालाई तोक्ने निर्णय गरेको उनले बताए । बैठकमा सांसदहरूले केन्द्रदेखि स्थानीय तहसम्मका लागि बजेट जनमुखी हुनुपर्ने सुझाव दिएका थिए ।