गरिबीको असर शिक्षा क्षेत्रमा परेकाले गरिबी निवारणमा जोड दिन प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै बालबालिकालाई विद्यालय शिक्षा लिन सक्ने वातावरण मिलाउन नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

‘सिक्दै गरेको पुस्ता र सिकाइको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको सोमबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बालबालिकालाई विद्यालयमा शिक्षा दिन विशेष भर्ना अभियान नै सञ्चालन गरिराखेको जानकारी पनि दिए ।

त्यस्तै उनले बालबालिकाले आफ्नो अध्ययनलाई निरन्तरता दिनसक्ने वातावरणसमेत मिलाइएको बताए । गुणस्तरीय शिक्षा पाउनु बालबालिकाको मौलिक अधिकार नै रहेको भन्दै प्रधानमन्त्री ओलीले दक्षिण एशियाका क्षेत्रमा गरिबीको असर शिक्षा क्षेत्रमा परेकाले गरिबी निवारणमा जोड दिन आग्रह गरे ।

संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)द्वारा आयोजित तीनदिने उच्चस्तरीय बैठकमा नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।