Breaking News

अमेरिकामा ज्वालामुखी विष्फोटपछि ६.९ रेक्टर स्केलको भूकम्प

हवार्इ, २२ बैशाख । अमेरिकाको हवाई प्रान्तमा शुक्रबार ज्वालामुखी विष्फोटपछि शक्तिशाली भूकम्प गएको छ । ६ दशमलब ९ रेक्टर स्केल मापन गरिएको भूकम्पका कारण केही घरहरूमा क्षति पुग्नुका साथै केही सडक चर्किएको बताइएको छ ।

उक्त ज्वालामुखीपश्चात् ११९ पटक भूकम्प गएको पनि जनाइएको छ । शुक्रबार दिउँसो १२ः३३ मा हवाईको बिगल्यान्डस्थित किलाउइया केन्द्रबिन्दु रहेको भूकम्प ४३ वर्ष यताको सबैभन्दा शक्तिशाली भएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग(युसजिएस)ले जनाएको छ।

यसअघि सन् १९७५ मा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर ७ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो । किलाउइया ज्वालामुखी विष्फोट भएपछि त्यस क्षेत्रमा भूकम्प गएको हो । उक्त क्षेत्र सक्रिया ज्वालामुखीको क्षेत्र हो ।

बस्तीभित्रै जमिन चिरिएर निस्किएको सल्फरडाइअक्साइड ग्याँसका कारण छट्पटी महसूस हुने, घाँटी खसखस हुने, रुघा लाग्ने, आँखा पोल्ने, श्वास लिन गाह्रो हुने तथा कफ निस्कनेजस्ता समस्या देखिने हुँदा स्थानीयलाई सो क्षेत्रबाट अन्यत्र सारिएको बताइएको छ।

भूकम्पपछि सो क्षेत्रमा ठूलो सुनामी आउने कुनै पनि खतरा नरहेको प्रशान्त महासागरस्थित सुनामी सुचना केन्द्रले जानकारी दिएको छ । तर बिग ल्यान्ड क्षेत्र वरपर केही मात्रामा सामुद्रिक छालहरू आउने संकेत देखिएको केन्द्रले बताएको छ ।

सामान्य बाहेक सडकमा कुनैपनि नोक्सानी नभएको यातायात विभागले जनाएपनि हवाईस्थित विद्युत वितरण केन्द्रको प्रशारण लाइनमा समस्या देखिएकोले करिब १४ हजार नागरिक विद्युत सेवाबाट वञ्चित हुनुपरेको छ ।

shares