August 21, 2017

सल्यानको बनगाड नगरपालिकाकाे मेयरमा एमालेकाे जीत

पुरुषोत्तम गिरी /सल्यान, जेठ ४ । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको मेयरमा नेकपा एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले बाजी मारेका छन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्युरो सदस्य कर्ण बहादुर बुढाथोकीलाई ९३ मतान्तरले पराजित गर्दै पुन मेयेर बनेका हुन् । उनले ५ हजार ७७ मत पाएका छन् भने बुढाथोकीले ४ हजार ९ सय ८४ मत प्राप्त गरेका छन् ।

उपमेयेरमा भने नेकपा माओवादी केन्द्रले बाजी मारेको छ । कांग्रेस र एमालेको गठबन्धनलाई तोड्दै नेकपा माओवादी केन्द्रकी मञ्जु यरीले ४ सय ६ मतान्तरले जित हात पारिन् । उनले नेपाली कांग्रेसको तर्फबाट उपमेयेरको उम्मेदवार बनेका दिपेन्द्र विष्टलाई पराजित गरिन् ।

यससँगै सल्यान जिल्लाका १० स्थानीय तह मध्ये नेकपा एमालेले ४ तहमा जित्दै जिल्लामा पहिलो पार्टी बन्ने संकेत गरेको छ । माओवादी र कांग्रेसले हाल सम्म २–२ स्थानीय तहमा जित हात पारेका छन् भने बाँकी २ स्थानीय तह मध्ये १–१ मा अग्रता लिएका छन् ।

वडा तर्फ भने माओवादी केन्द्रले ७ वटा वडामा तथा नेकपा एमालेले ५ स्थानमा जीत हात पारेकाे छ । १२ वडा रहेको नगरपालिकामा माओवादी केन्द्रले वडा नं. २, ३, ४, ५, ८, ९ र ११ मा जितेको छ भने एमालेले १, ६, ७, १० र १२ मा जीत हात पारेको छ ।