नेपालमा ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुष मानसिक समस्याबाट पीडित

काठमाण्डौ, १८ बैशाख । नेपालका करीब ५० देखि ६० लाख मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको तथ्यांकले देखाएको छ ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले मंगलबार काठमाडौंमा मानसिक तथ्याङ् सार्वजनिक गर्दै नेपालमा ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा मानसिक स्वास्थ्य समस्या देखिएको जनाएको हो । ८० प्रतिशत मानसिक रोगी स्वास्थ्य उपचारबाट वञ्चित हुनुपरेको पनि तथ्याङ्ले देखाएको छ । विश्वमा हरेक ५ जना व्यक्तिमध्ये एक जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको तथ्याङ्मा उल्लेख छ ।

मानसिक समस्याकै कारण मानिसले आत्महत्या गर्ने गरेको समेत बताइएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३-७४ मा ५ हजार १ सय २५ जनाले मानसिक तनावका कारण आत्महत्या गरेका छन् । कार्यक्रममा बालमनोविद् मधुविलास खनालले विद्यालय तहदेखि मानसिक स्वास्थ्यमा विषयमा सिकाउनुपर्ने धारणा राखे । उनले केन्द्रले विभिन्न ठाउँमा मनोपरामर्श सेवा सञ्चालन गरेर मानसिक रोगलाई निको पारिरहेको समेत जानकारी गराए ।

केन्द्रका प्राविधिक निर्देशक एवं वरिष्ठ मनोविद् डाक्टर पशुपति महतले मानसिक रोगलाई समुदायबाट नै रोकथाम गर्न सकिनेमा जोड दिए । अहिलेसम्म उक्त केन्द्रबाट दुई हजार ७ सय ६० जनाले मनोपरामर्श पाएका छन् ।