‘हिमालय रोडिज’को अन्तिम अडिसन भोलि काठमाण्डौमा

अमित पोखरेल/काठमाण्डौ, १७ बैशाख । युवाहरूलाई लक्षित गरी तयार पारिएको पृथक किसिमको टेलिभिजन कार्यक्रम हिमालय रोडिजको दोस्रो सिजनको अन्तिम अडिसन मंगलबार काठमाडौंमा हुँदैछ । रोमाञ्चक खेलका कारण पहिलो सिजनमा युवाहरूको ध्यान तान्न कार्यक्रम सफल रहेको थियो ।

युवाहरूमा आत्मविश्वासको वृद्धि, आफूभित्रको प्रतिभा पहिचान अनि आफ्नो शक्तिको सही परिचालन गर्दै जीवनलाई उपयुक्त मार्गमा अघि बढाउँदै सफलताको प्राप्ति । यही उद्देश्यका साथ नेपालमा एक वर्ष अघि सुरु भएको थियो, हिमालय रोडिज – राइजिङ थ्रु हेल ।

भियाकम १८ को लाइसेन्स अन्तर्गत रहने गरी भारतीय टेलिभिजन रियालिटी शो, एमटिभी रोडिजले पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय प्रसारण अधिकार नेपालमा हिमालय टेलिभिजनलाई दिएको थियो । नेपालमा उसले गरेको परीक्षण सफल प्रमाणित भयो । हिमालय रोडिजको प्रचारका लागि भारतीय कलाकार रणविजय सिंह नेपाल आए ।

भारतमा सन् २००३ देखि सुरु भई १४ संस्करणसम्म पुगिसकेको रोडिजलाई नेपालमा प्रसारण सजिलो भने थिएन । अघिल्लो संस्करणको उही उत्साहलाई जीवित राख्दै हिमालय टेलिभिजनले हिमालय रोडिजको दोस्रो संस्करण, हिमालय रोडिज – वाइल्ड वाइल्ड वेष्ट को सुरुवात गरेको छ । रोडिजको दोस्रो संस्करणको अडिसन राउण्ड गत वैशाख ७ गते देखि पूर्वको इटहरीबाट सुरु भई चितवन, बुटवल र पोखरामा सम्पन्न भइसकेको छ । मंगलबार हुने अन्तिम अडिसनको लागि काठमाण्डौको गोल्डेन गेट इन्टरनेशनल कलेजमा तयारी भइरहेको छ ।

रोडिजको यस अघिका चारवटै अडिसनमा प्रतिस्पर्धीहरूको उत्साहजनक उपस्थिति पाएकोले यस पटक पनि हिमालय रोडिज सफल हुनेमा निर्देशक अमन प्रताप अधिकारी विश्वस्त देखिन्छन् । गत सिजन ‘डन डिरेक्टर’का रूपमा चर्चा कमाएका निर्देशक अधिकारीले यस पटक रोडिजलाई अझ रोमाञ्चक बनाउने सोच रहेको बताए । मंगलबारको काठमाण्डौ अडिसन बिहान ६ बजेबाट सुरु हुनेछ ।

विभिन्न चुनौति र रोमाञ्चक खेलहरूमा प्रतिस्पर्धा गर्दै ‘रोडि’को उपाधि हासिल गर्न युवाहरूका लागि त्यति सजिलो भने हुने छैन । हिम्मतिलो र साहसी युवाका लागि भने यो मञ्च उपलब्धिमूलक हुन सक्छ ।