सातौं नेपाल हब्र्स आयुर्वेदा एक्स्पो हुने

काठमाण्डौ, १६ बैशाख । नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको आयोजनामा बैशाख २१ गतेबाट काठमाडौंमा सातौं नेपाल हब्र्स आयुर्वेदा एक्स्पो हुने भएको छ ।

संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य र सुखी नेपालीको चाहना, समृद्धिका लागि जडिबुटी उद्यम भन्ने नाराका साथ बैशाख २१ देखि २३ गतेसम्म काटमाडौैंको भृकुटिमण्डपमा एक्स्पो आयोजना गरेको जनाएको हो ।

मेलामा सयवटा स्टल रहने छन् भने अर्गानिक प्रमाणित जडिबुटि, कृषि उत्पादन, नेचुरल एग्रो सामाग्री, आयुर्वेदिक औषधी, प्रशोधन मेसिनरी लगायतका वस्तु राखिने संघले जनाएको छ ।

नेपालको आयुर्वेदिक औषधी तथा सामाग्रीको प्रचार गर्दै आम उपभोक्तासम्म पुर्याउनका लागि एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिए । पछिल्लो समय निजी तथा साझेदारी अवधारणामा नेपालमा उत्पादित आयुर्वेदिक वस्तुहरूको निर्यात बढ्दै गएको उनले जानकारी दिए ।

एकीकृत व्यापार रणनीति २०१० देखि निर्यातजन्य वस्तुहरूमा जडिबुटीको महत्व र यसको उचित व्यस्थापन तथा वृद्धिमा उद्योग मन्त्रालयले सहजीकरण गर्दै आएको छ ।