रामेछापमा एमालेकाे विजय जुलुस, मन्थली नगरपालिका प्रमुख/उपप्रमुख दुबैमा एमाले

रमेश ढुंगेल / रामेछाप । जेठ ४ गते । स्थानीय तह निर्वाचनमा मन्थली नगरपालिकामा प्रमुख र उपप्रमुख ५ वटा वडा अध्यक्ष पदमा विजय प्राप्त गरेपछि नेकपा एमालेले विजय र्‍याली निकालेको छ ।

बाजागाजा सहितको जुलुसले मन्थली बजार परिक्रमा गरेपछि देवकोटा चोकमा कोणसभाको आयोजना गरिएको थियो । सभामा बोल्दै नवनिर्वाचित नगरपालिका प्रमुख रमेश बस्नेतले मन्थली नगरपालिकालाई नेपालकै नमुना सहर बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकाको हरेक वडाको केन्द्रसम्म पक्कि सडक निर्माण गर्ने, नगरपालिकाकै श्रोतबाट जेष्ठ नागरिकलाई सुरक्षा भत्ता प्रदान गर्ने, हरेक वाडामा सुरक्षित र सुविधासम्पन्न स्वास्थ्य चौकी स्थापना गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्थली नगरपालिकामा बस्नेतले ६ हजार ५ सय २९ मत प्राप्त गरी विजयी भएका हुन् । उपप्रमुखमा एमालेकै मायाँ कार्की ६ हजार ५ सय सात मत प्राप्त गरी विजयी भएकी छिन् ।

१४ वटा वडा रहेको मन्थली नगरपालिकामा एमाले ५, नेपाली कांग्रेसले ३, माओवादी केन्द्र ५ र राप्रपा १ वडामा विजयी भएका छन् ।