Breaking News

अबको बजेट समावेशी हुन्छ: प्रचण्ड

काठमाण्डौ, १४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अबको बजेट समावेशी हुने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारबाट काठमाण्डौमा सुरु ‘नेपाल १४ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले दुई तिहाई बहुमतको सरकारले जनता केन्द्रित समावेशी बजेट ल्याउने बताएका हुन् ।

उनले स्थानीय तह र प्रादेशिक तहको विकासका लागि पनि विशेष ध्यान दिइने भन्दै घोषणापत्रमा उल्लेख गरिएको विषयलाई जनताले परिवर्तनबाट महसूस गर्ने गरी काम गर्ने बताए । अब जनतालाई भाषण र राजनीतिक कुरा भन्दा पनि विकासको अनुभूति गराइने उनको भनाइ छ ।

स्थानीय तहबाटै बजेट तर्जुमा गर्ने विषय निकै नौलो भएपनि यो नितान्त जनताका लागि नै भएको उनले बताए । उनले निकै अप्ठेरो अवस्थाबाट मुलुकले संविधान प्राप्त गरेको भन्दै अब सबैको ध्यान विकास निर्माण र मुलुकको समृद्धिमा जानुपर्ने जिकिर गरे । प्रचण्डले लघु उद्योगका लागि प्रत्येक गाउँपालिकमा १ करोड छुट्टाउनुपर्ने प्रस्तावलाई सरकारसमक्ष पुराउने धारणा राखे ।

प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको छ । २ सय ५० वटा स्टलको सहित पाँच दिनसम्म चल्ने प्रदर्शनीमा दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने र सात करोड भन्दा बढीको प्रत्यक्ष र १० करोड बराबरीको अप्रत्यक्ष कारोवार हुने प्रक्षेपण महासंघले गरेको छ ।

shares