इयरफोनले लियो १३ जना स्कुले बालबालिकाको ज्यान

नयाँदिल्ली, १३ वैशाख । भारतमा एउटा रेलले विद्यार्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ भने अरु अाठ जना घाइते भएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउबाट ३२३ किलोमिटर टाढा पर्ने कुशीनगर जिल्लामा रेलको बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएर बिहीबार सो दुर्घटना भएको हो । दुर्घटना चालकको लापरवाहीको कारण भएको बुझिएको छ । चालकले कानमा इयरफोन लगाएको कारण रेलको अावाज नसुन्दा बसलार्इ रेलले ठक्कर दिएको थियो ।

दुर्घटनामा परेका बालबालिकाहरू अधिकांश दश वर्ष मुनिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रत्यक्षदर्शीहरूले बताएअनुसार बसमा २५ जना विद्यार्थीहरू सवार थिए । उक्त दुर्घटना मानवरहित रेलवे क्रसिंगमा स्थानीय समयानुसार बिहान साढे सात बजे भएको थियो ।

ठक्कर दिएको रेल सिवानबाट गोरखपुरतर्फ जाँदै गरेको थियो । उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले घटनामा पिडित बालबालिकाहरूलाई २ लाख भारु राहत रकम दिने घोषणा गरेका छन् भने दोषीलार्इ कडा कारवाही गरिने पनि बताएका छन् ।

यसअघि पनि उत्तर भारतीय राज्य हिमाञ्चल प्रदेशमा २७ जना बालबालिकासहित ३० जनाको विद्यालय बस दुर्घटनामै परेर निधन भएको थियो ।