Breaking News

वामपन्थी भर्सेज दामपन्थी

-संकेत कोइराला

राजा जनकले ठूलाठूला विद्वानहरू बोलाएर तत्वज्ञानमा शास्त्रार्थ आयोजना गरे । जसले यस शास्त्रार्थमा बाजी मार्छ, उसलाई सिङ्मा सुनका पाता बाँधिएका सय गाई उपहार दिने घोषणा गरिएको थियो । अष्टाबक्रका पिता पनि शास्त्रार्थका प्रतिस्पर्धी थिए । अष्टाबक्रले आफ्नो बाबु बाजी हार्दै गएको सुने । बाउकै श्रापबाट आठ ठाउँ भाँचिएको शरीर खोल्च्याउँदै उनी त्यो सभामा पुगे । अष्टावक्रको रुप, शरीर र चालढाल देखेर सभासद्हरू हाँस्न थाले । केही समय अल्मलिएका अष्टबक्र पनि ती सभासद्तर्फ हेरेर मुर्छा परी परी हाँस्न थाले । यो दृश्य देखेर राजा जनकभित्र खुल्दुली पैदा भयो । उनले अष्टाबक्रलाई सोधे– ‘पुत्र ! यी विद्वानहरू किन हाँसे भन्ने मैले बुझें । तर तिमी किन हाँस्यौ, मैले यो रहस्य बुझ्न सकिन ।’ अष्टाबक्र साहसका साथ प्रस्तुत भए– ‘महाराज, यत्रो गम्भीर विषयमा शास्त्रार्थ चलिरहेको यो पावनभूमिमा यस्ता चर्मकारहरूको गरिब बुद्धि देखेर मलाई हाँसो उठिरहेको छ । यी पटमूर्खहरूको अविवेकी क्रियाकलाप देख्दा टिठ लाग्यो ।’ अष्टाबक्रको उद्घोषले सभामा सन्नाटा छायो । राजा जनकले महापण्डितको उपमा दिएर बोलाएका ज्ञानीहरूलाई एउटा फुच्चेले चर्मकारको उपाधि दिनु राजा जनकको पनि अपमान थियो । राजा जनकले स्थिति सम्हाल्दै बालकसंग जिज्ञासा राखे– ‘वत्स ! तिम्रो भनाइको तात्पर्य के हो मैले बुझ्न सकिन ।’ अष्टाबक्रले जवाफ दिए– ‘एकदम सपाट छ कि चर्मकारहरू छालाका पारखी हुन्छन् । तिनीहरूले ज्ञान के हो बुझ्दैनन् । ज्ञानीले ज्ञान देख्छ, छाला देख्दैन । यी विद्वानहरूले मेरो छाला र शरीर मात्र देखे । जसलाई देखेर यिनीहरू खिलखिलाउँदै हाँसे । ज्ञानवानले आत्मदृष्टि राख्छ, उसले आत्मा नै देख्छ । अज्ञानीले चर्मदृष्टि राख्छ, चर्म नै देख्छ ।’ अष्टाबक्रको वचन सुनेर राजा जनक अत्यन्त प्रभावित भए । अष्टाबक्रको चरणमा साष्टाङ्ग दण्डवत गर्दै आफूलाई आत्मज्ञान दिन आग्रह गरे । जनकभित्रको पवित्रता बुझेका अष्टबक्रले उनलाई ज्ञान दिए । यी दुई पात्रबीचको आत्म संवाद कालान्तरमा अष्टाबक्र गीता कहलिन पुग्यो ।

नेपालको राजनीतिक इतिहासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चलाखी पनि यस्तै गीता बन्ने सम्भावना देखिएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम आउँदा समेत टीभी हेर्न, रेडियो सुन्न जाँगर नचलाउनेहरू मोदी महात्म्यबाट कृतकृत भएका छन् । कम्युनिष्टहरूको बाहुल्य रहेको नेपालको राजनीतिमा मोदी डक्टिनले माओको रेडबुकलाई उछिनेको छ । यसबाट ढुंगा, माटो र पानीमा राष्ट्रियता देख्नेहरू पानी पानी भएका छन् । उताको लाइन यस्तो छ भनेर वर्षौंदेखि चल्दै आएको खुराफाती खेतीको ठेक्का अब अतिवादको राजनीतिमा कपाल पकाएकाबाट नवखेलाडीको पोल्टामा पुगेको छ । अचम्म त के छ भने ६० वर्षदेखि राजनीति गरेको पात्रो पल्टाउने नेताहरू ६ दशकसम्म जे कुरामा अल्मलिन्छन् तर भारतको भूमि टेकेर आउने वित्तिक्कै मोक्ष प्राप्त हुने गरेको छ ।

नेता भनेको जेलनेल, उमेर नभएर परिपक्वता हो । दृष्टिकोण हो । आखिर यही प्रमाणित भयो । बुद्ध नेपालमा जन्मिएको भनेर फेवातालको पानीभन्दा बढी मसी खेर फालियो होला । टनकपुर र महाकालीका सन्धिको भुत्भुतेले कति मारिए, कति भौतिक संरचना नास भयो, कति अंगभंग भए त्यसको तथ्यांक छैन । १९५० को सन्धि विरुद्ध १६ वर्ष ठिटो भएदेखि झण्डा उठाएका मोहन वैद्यहरू अहिले चाउरिसकेका छन् तर घिउ नलाग्ने त्यो जार्गन बोकेर थाकेका छैनन् । त्यही सन्धिमा दस्तखत गर्ने भारत आर्थिक विकासमा फड्को मारेर विश्वकै समृद्धशाली देश हुन लाग्दा हामी ढिंडो खाने कोदो र ब्रतमा फलाहार खाने फापरमा समेत भारतमै भर पर्नु परेको छ ।

अघिल्लो पटक नेपाल आउँदा मोदीले एक खर्बको ऋण राशीको उद्घोष गरे । त्यो समयदेखि यो घडीसम्म आइपुग्दा नेपालमा चार प्रधानमन्त्री फेरिए, तर त्यो सहयोगको खुटखबर छैन । मोदी फेरि आउँदैछन् । मोदीको भ्रमणबाट नेपालले पाउने सबैभन्दा ठूलो कोसेली भनेको भारतीय सरकार प्रमुखले नेपाललाई एउटा सार्वभौमसत्ता मुलुकको रूपमा स्वीकार्नु नै हो । स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले हिमाललाई आफ्नो देशको सीमा भनेर नेपालको अस्तित्वमा धावा बोलिदिँदाको तुष आजसम्म मेटिन सकेको छैन । डा. राजेन्दप्रसादले नेपाललाई सम्मान त गरे तर त्यो सम्मान पशुपति भक्तिमा मात्र सीमित राखे । सबैथोक भारतको स्वीकार्ने अनि सवैबैभन्दा घृणा उसैलाई गर्ने नेपाली समाजको मनोविज्ञान मोदी साबुनले धोएको विश्वास सबैमा पलाएको छ । त्यो विश्वास उताउलिँदै गएर विश्वकपको जस्तै तिरंगाको छाप भएका टिसर्ट लाउने क्रम बढ्यो भने चाहिँ अर्को अनिष्ट निम्तिने निश्चित छ ।

राजनीतिमा कृत्रिमता घट्यो भने निसन्देह इमान्दारीको बटबृक्ष मौलाउँछ । एउटा खैरे देख्ने वित्तिक्कै नेपांग्रेजी बोल्ने नेताहरूले आफ्नै भाषा बोलेर पनि लोकप्रिय हुन सकिन्छ भन्ने मोदीबाट सिक्नुपर्छ । त्यतिमात्र हैन, आफूले टेकेको जमिनमा गौरव गर्न सक्यो भने त्यसबाट प्राप्त हुने ऊर्जाबाट विश्व विजय पनि असम्भव छैन । बाराक ओबामा राष्ट्रपति हुँदा अमेरिकी भन्दा केन्याली जनताले खुसी मनाए । सौतेनी बाउसंग बाल्यकाल बिताउँदाको क्षण उनले पीडा हैन, शिक्षाको रूपमा ग्रहण गरे । बाल्यकालमा चिया बेचेकोमा मोदी गौरव गर्छन् । नेपालका खुर्सानी माइला, मुतुवा कान्छाहरू त्यो इतिहासमा रफ्फू भर्न बाँकी जीवन नै झूटको पुलिन्दामा अनुवाद गर्छन् । बामपन्थीहरू दामपन्थी हुनुमा आफ्नो कल्याण देख्छन् । हुलाकी, पियन, किसानको छोरो भएको परिचय नजोडियोस् भन्ने उनीहरूको भित्री चाहना हुन्छ । बरु आफ्नो प्रतापमा डाक्टर, इन्जिनीयर, पाइलट या युरोप अमेरिकाको पीआर सन्तानको पिता भएकोमा उनीहरूलाई गौरव छ । मोदीको व्यक्तित्व नेताहरूले आत्मसमीक्षा गर्ने क्षण हो । पाकेको दारीभित्र कति तागत हुनुपर्छ भनेर प्यारामिटरका उच्च नमूना हुन् मोदी । उनको व्यक्तित्व चुनावमा यसरी स्थापित भयो कि भारतीय जनता पार्टीका नेता नभएर मोदीको जनता पार्टीको चिनारी बन्दा नेतृत्वले गर्व गर्नुपर्ने अवस्था देखियो ।

डा. सर्वपल्ली राधाकृष्णनले भारतीय राजदूतका हैसियतमा पूर्व सोभियत संघमा रहँदा त्यहाँका राष्ट्रपति जोसेफ स्टालिनलाई आख्यान यसरी सुनाएका थिए– हाम्रो देशमा एकजना सम्राट जीवनभर भयंकर खुंखार लडाईं लडेर वृद्धावस्थामा पुगेपछि सारा राजपाट त्यागी भिक्षु बनेका थिए । राष्ट्रपति महोदय ! तपाईं पनि रक्तपथको लामो यात्राबाट प्रभुताको यो महान सिंहासनमा आइपुग्नुभएको छ । भोलिका दिनमा यहाँ पनि हाम्रै देशको उक्त सम्राटजस्तो बन्न सक्नुहुन्न भनेर अहिल्यै कसले ग्यारेन्टी गर्न सक्छ ? डा. राधाकृष्णन्को कुरा सुनेर स्टालिन जीवनमा पहिलोपल्ट दिल खोलेर मुस्कुराएका थिए । उनले उत्साहित हुँदै भने– ‘हो कहिलेकाहीं चमत्कार सिर्जना हुनसक्छ । म पनि ५ वर्षसम्म धर्मशास्त्रका स्कुलमा बसेको छु ।’ स्टालिनसंग विदाईको गला मिलाएर उनको पिठ्यूँ सुमसुम्याउँदा स्टालिनको आँखामा आँसुको सागर उर्लिएको थियो । उनको अनुहार मलिन थियो र कण्ठ पनि अवरुद्ध । उनले आफ्ना सजल नेत्र उचालेर भनेका थिए– ‘तपाईं पहिलो व्यक्ति हो जसले मलाई मनुष्य सम्झिएर मप्रति मानवीय व्यवहार गर्नुभयो । मलाई कहिल्यै पनि दानव ठान्नुभएन । तपाईं हामी सबलाई छोडेर जाँदै हुनुहुन्छ । म चाहान्छु कि तपाईं दीर्घजीवी रहनुहोस् । अब म धेरै दिन बाँच्दिन ।’ स्टालिन रोएको यस घटनालाई सारा विश्वले इस्पातको मानिस रोएको भन्दै टिप्पणी गरेको थियो ।

कुनैबेला स्टालिनकै झल्को दिने नेपाली राजनीतिका तिलस्मी र रहस्यमयी पात्र पुष्पकमल दाहाल हेर्दाहेर्दै अहिले सिल्भरको ताप्केजस्तो रन्की नसकी थन्किने नेतामा परिणत भएका छन् । बाम एकतामा आएको समस्यालाई अरु जे रंगरोगन गरिएपनि गाँठी कुरा भनेको प्रचण्डले पार्टीको मुखिया र प्रधानमन्त्री पदको ग्यारेन्टी हो । यो मिल्ने वित्तिक्कै प्रतिशतको हिसाब स्वत मिल्ने निश्चित छ । त्यसो त नेपालको राजनीतिमा आएको पछिल्लो अनपेक्षित परिणामले अब यहाँ वर्षौंदेखि चल्दै आएको पान, चना र खादीको बनारसी राजनीतिलाई बाईबाईको संकेत गरेको छ । भारतीय जनता पार्टीको आगमनसंगै नेहरु विश्वविद्यालयबाट दीक्षित हुनेहरूले देखाउने तिकडमपूर्ण राजनीतिमा पनि पूर्णविराम लागेको छ । राजनीतिमा पेन्टियम वानबाट टुमा सम्म पनि जान जाँगर नलगाउनेहरूका लागि अबको राजनीतिक कोर्स तेल सकिएको जहाजको यात्रुजस्तो सकसपूर्ण हुने पक्का छ । अर्काले लगाइदिएको खेताला बनेका यिनीहरूका लागि संघीयता घाँटीमा झुण्डिएको गाँड बन्ने निश्चित छ । त्यसैले त नेताहरूको अवस्था महाभारतका लाचार पात्र भीष्मको उत्तरार्द्धजस्तै भएको छ । न पाण्डवको जितमा हाँस्न सक्छन्, न प्रतिरोधमा उत्रन ।

क्रान्तिका लागि मात्र हैन, देशको अखण्डता जोगाउन पनि संसारमा लाखौं मानिस मारिएका छन् । अब्राहम लिंकनका पालामा हजारौं अमेरिकी मारिए तर उनीहरूले दक्षिण अमेरिकी राज्य चोइटिन दिएनन् । यही राष्ट्रप्रेमले लिंकनलाई पूज्य बनायो । एउटा मात्र राम्रो कुरा देखिंदा छनौटमा कठिन हुन्छ । उत्तिक्कै राम्रा सिद्धान्त र भावनाबीच टक्कर हुन्छ । सिद्धान्तको आधारमा सत्य नभई, सत्यको आधारमा सिद्धान्त हेरिनुपर्छ । बंगलादेश, पाकिस्तान, भुटान देखाएर राजनीतिक परिवर्तनको वकालत गर्नु भनेको आफ्नो कमजोरी लुकाउनु हो । अरुले भनेको बाटोमा अहिलेसम्म श्रीलंका हिँडेको भए के हुन्थ्यो ? आजभन्दा ६२ वर्षअघि राष्ट्रसंघमा भाषण गरेर काश्मिरीको आत्मनिर्णयको अधिकार स्वीकार्ने नेहरुको संकल्प हावामा हानेको बन्दुकभन्दा माथि उठ्न सकेन । काश्मिरमा स्वतन्त्रता चाहनेहरू अहिले पनि शिकार भइरहेका छन् । राज्यको ढुकुटी बोकेर उडेको जहाज विदेशी भूमिमा अवतरण गराई नेपाली राजनीतिमा दुस्साहसको नौलो झण्डा गाड्ने गिरिजाप्रसाद कोइराला र सशस्त्र आन्दोलन रोज्ने पुष्पकमल दाहालबीच स्नेहको अलौकिक रसायन राजनीतिमा एक एक जोड्दा दुई नभएर एघार हुन्छ भन्ने दृष्टान्त बन्यो । यी सबै संयोगको एउटै निष्कर्ष हो– बलवान मानिस नभएर समय हुन्छ ।

हलहली बढेको बर्खे झारले पिपलको विरुवा छेकिदिंदा पिपल हराएको भ्रम पर्ने गरेपनि झार सुकेपछि पिपल जस्ताको तस्तै रहेजस्तै सत्यमा लागेको भ्रमको बादल फाट्दै गएपछि राजनीतिक भ्रम पनि चिरिंदै गएका छन् । कृष्णलाल अधिकारी “मकैको खेती” पुस्तक लेखेको अभियोगमा मारिए । कृष्णलाल मारिएपनि उनको लेखनी सत्यबाट डगमगाएको छैन । मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ–‘सरकारले आफ्ना देशका कुकुरहरूभन्दा विदेशी कुकुरहरूको बढ्ता मान गर्छ तर चोर डाकाहरूबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरू काम लाग्दैनन् । स्वदेशी कुकुरहरू नै काम लाग्छन् ।’

संसारको कुनै मानिस सतप्रतिशत ठिक र सतप्रतिशत गलत हुँदैन । यदि शंकालु नजरले हेरियो भने आफ्नै बाउलाई पनि ढेडूजस्तै देखिन्छ रे ! तथ्य वस्तुनिष्ठ हुन्छ तर सत्य जहाँ गएपनि एउटै हुन्छ । सूर्य निश्चित समयमा उदाउँछ, अस्ताउँछ भनेर मान्नु एउटा मान्यता हो । साँचो अर्थमा सूर्य न कहिल्यै उदाउँछ, न अस्ताउँछ । एकातिर रहेका बेला अर्कातिर केही घण्टा अनुपस्थित हुने मात्र हो । घोडा जतिसुकै पाइनदार भएपनि जोत्न त सिङ नभएको पुँडे गोरु नै काम लाग्छ नि ।

प्रतिक्रियाका लागि: sanketkoirala07@gmail.com

लेखकका अन्य लेख पढ्नुहोस्-

जहाँ भिजन हैन सिजन बिक्छ

इन्डियाभन्दा ठूलो आइडिया

पानी पकाएर बाक्लो, मान्छे फकाएर आफ्नो हुन्न

ढोंगीभन्दा जोगी बन्नु जाति

लडाईं माडको कि जाँडको ?

मेकअप रोज्ने कि ब्रेकअप ?

shares