दूर्लभ वन्यजन्तुको छालासहित गिरोह पक्राउ

निरज तामाङ/काठमाडौं, १० बैशाख । विभिन्न दुर्लभ वन्यजन्तुहरूको छालासहित संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला ललितपुर गोदावरी नगरपालिका ८ पछमहा गाउँका २२ वर्षीय सानु भन्ने सुकराज नगरकोटी रहेका छन् । विशेष सूचनाको आधारमा आइतबार दिउँसो काठमाडौंको सतुङगलमा हिडिरहेका उनलाई बलम्बु प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक सर्मिला गुरुङसहितको टोलीले पछ्याउँदै जाँदा निजको घरबाट विभिन्न जनावरहरूको छाला, टाउको, हड्डी, खपटासहित उनलाई पक्राउ गरेको हो ।

टोलीले उनको कोठाबाट सालकको खपटा १ थान, मृगको रौं सहितको छाला १ थान, स्यालको छाला १ थान, मृगको जस्तो देखिने जनावरको सिंङ सहित टाउकाको हड्डी १ थान, नाम एकिन नभएको जनावरको रौं सहितको छाला ३ थान र बाघको रौं सहितको छाला १ थान बरामद गरेको छ ।

उनीसंगै अन्य कारोवारीहरू पनि संलग्न रहेको हुनसक्ने आशंकामा थप अनुसन्धान एवं अावश्यक कारबाहीका लागि उनलाई वन विभाग ललितपुर पठाइएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिइन् ।