संसारकै सबैभन्दा जेठो व्यक्तिको निधन

काठमाण्डौ, ९ बैशाख । संसारको सबैभन्दा जेठो व्यक्तिको जापानमा निधन भएको छ ।

जापानी महिला नबी ताजिमाको एक सय १७ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । अस्वस्थ भएर जनवरीदेखि अस्पतालमा उपचाररत उनको शनिबार राति आठ बजेतिर निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

नबीको जन्म सन् १९०० अगस्ट ४ मा भएको थियो। उनका शाखा-सन्तान गरी एक सय ६० भन्दा बढी सदस्य थिए। उनको घर दक्षिणी जापानको क्युशूमा कागोशिमा प्रान्तमा थियो।

करिब सात महिनाअघि जमैकाका वायलेट ब्राउनको निधन भएपछि नबीलाई संसारकै जेठो व्यक्तिको संज्ञा दिइएको थियो । वायलेटको निधन पनि एक सय १७ वर्षको उमेरमा भएको थियो।

अमेरिकास्थित ‘गेरोनोलजी रिसर्च ग्रुप’ का अनुसार नबीको निधनपछि अब जापानकै महिला शियो योशिदा विश्वको जेठो व्यक्ति बनेकी छन् । उनी हाल एक सय १६ वर्ष भएकी छिन् । -एजेन्सी