अाज राति नेपाली अाकाशमा उल्का वर्षा देख्न सकिने

काठमाडौ, ९ बैशाख । अाइतबार राति नेपाली आकाशमा उल्का वर्षाकाे दृश्य देखिने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासाे)का अनुसार आज राति नेपाली आकाशमा उल्का खसिरहेको रोमान्चक दृश्य देख्न सकिनेछ ।

अत्यधिक सक्रियताको समयमा १५–२० वटा उल्का खसेको देख्न सकिने नासाेले जनाएको छ । आज राति १ बजेदेखि सूर्योदयसम्म उल्का खसेको दृश्य अवलोकन गर्न सकिने नासोले जानकारी दिएको छ । नासोको अनुसार वैशाख ५ देखि नै वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) सक्रिय रहेको र यो वैशाख १२ गतेसम्म सक्रिय रहने छ ।

जनबोलीमा भने उल्कावर्षालाई तारा खसेको भनिन्छ । तारा खसेको राम्रो हुँदेन भन्ने विश्वास भएपनि वैज्ञानिक दृष्टिले उल्का वर्षाले कुनै असर नगर्ने खगोलाविद जयन्त आचार्यले बताए । ‘यो एउटा नियमित प्रक्रिया हो’, उनले भने, ‘यसले मानव स्वास्थ्यमा कुनै हानी पुर्‍याउँदैन।’

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र विभागमा बेलुकी ६ बजे टेलिस्कोपमार्फत चन्द्रमा र शुक्र तारा नियाल्ने व्यवस्था मिलाएको अध्यक्ष एवं खगोलविद् सुरेश भट्टराईले जानकारी दिए।

किन र कसरी हुन्छ उल्कावर्षा ?

थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरू पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा उल्का वर्षा देखिने गर्दछ । पुछ्रेतारा वा धुम्मकेतुहरूले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरू छोड्ने गर्छन्, जुन लाखौं किलोमिटरसम्म फैलिन सक्छन् र पृथ्वीकाे वायुमण्डलमा अाइपुग्दा जलेर नष्ट हुन्छन् । यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई ‘उल्का वर्षा’ भन्ने गरिन्छ ।