October 23, 2017

सल्यानको बागचौर नगरपालिकाको मेयर र उपमेयरमा माओवादी विजयी

पुरुषोत्तम / गिरी सल्यान जेठ ३ । सल्यानको बागचौर नगरपालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ ।

नेकपा एमालेका उम्मेदवार लोक बहादुर डाँगीलाई १ हजार ४ सय ४१ मतले पराजित गर्दै नेकपा माओवादी केन्द्रका उम्मेदवार लोकमान बुढाथोकी बागचौर नगरपालिकाको अध्यक्ष बनेका हुन् । उनले ५ हजार १ सय २१ मत प्राप्त गरेका थिए भने एमालेका डाँगीले ३ हजार ६ सय ८० मत प्राप्त गरेका थिए ।

यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै कल्पना पुनले एमालेकी ओकादेवी खत्रीलाई १ हजार ६ सय २५ मतले पराजित गर्दै उपाध्यक्षमा जितेकी छन् । उनले ५ हजार २ सय १५ मत प्राप्त गर्नि भने प्रतिद्वन्दी खत्रीले ३ हजार ५ सय ९० मत प्राप्त गरिन् ।

१२ वटा वडा रहेको बागचौर नगरपालिकामा वडा नम्बर १ र ७ मा कांग्रेस, २ र ९ मा एमाले र बाँकी सबै वडाहरुमा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेका छन् । यो सँगै १० स्थानीय तह रहेको सल्यानमा नेपाली कांग्रेसले २, एमालेले २ र माओवादी केन्द्रले २ स्थानमा जीत हात पारेका छन् । बाँकि ४ तह मध्ये माओवादी केन्द्रले २ मा, एमालेले १ मा र नेपाली कांग्रेसले १ मा अग्रता कायम गरेका छन् ।