Breaking News

जहाँ भिजन हैन सिजन बिक्छ

-संकेत कोइराला

बेदान्तको प्रचार प्रसार गर्ने सिलसिलामा स्वामी रामतीर्थ जापान पुगे । त्यहाँ उनको भव्य स्वागत सत्कार भयो । स्वामीलाई जापानकै एक विद्यालयले अभिनन्दनका लागि बोलायो । स्वामीले त्यही विद्यालयमा पढिरहेको एक शिशुलाई बोलाएर सोधे– ‘तिमी कुन धर्म मान्छौ ?’
‘बौद्ध धर्म मान्छु ।’ शिशुले सहज शैलीमा उत्तर दियो । स्वामीले फेरि प्रश्न थपे, ‘बुद्धका बारेमा तिमीलाई के थाहा छ ?’ ‘बुद्ध भनेका महान् भगवान हुन् ।’ यति भन्दै त्यो सानो बालकले चुपचाप ध्यान गरी बुद्धप्रति नतमस्तक हुँदै अभिवादन गर्‍यो ।

‘मानिलेऊ जापानलाई जित्ने उद्देश्यले कुनै तेस्रो देशबाट सैनिकको एक डफ्फा यहाँ आयो । र, त्यो डफ्फाको नेतृत्व बुद्ध र कन्फ्यूसियसले गरेका रहेछन् भने त्यतिबेला तिमी के गर्छौ ?’ स्वामीले प्रश्न सक्दानसक्दै बालकले जोशपूर्ण उत्तर दियो – ‘त्यतिबेला म तरबारले बुद्धको टाउको काटिदिन्छु र उक्त काटिएको टाउको कन्फ्युसियसको खुट्टामा राखिदिन्छु ।’ बालकको यस्तो जवाफ सुनेर रामतीर्थ खुसीले गद्गद भए । विद्यार्थीलाई अँगालो मारे । उनको मुखबाट निस्कियो, ‘जुन देशका विद्यार्थीमा यसप्रकारको देशभक्ति हुन्छ, त्यो देश कुनै देशको गुलाम हुँदैन । त्यो देशको उन्नतिलाई कसैले रोक्न सक्दैन ।’

थुइक्क बुद्ध जन्माएको देशका नेपाली हामी यो कालमा आउँदासम्म बुद्धको नागरिकताका विषयमा तर्क कुतर्क गरेर दिन काटिरहेका छौं । बुद्ध जन्मिएको शताब्दीयौं पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आएर बुद्ध नेपालमा जन्मिएको भनेपछि हाम्रो कलेजो ठण्डा भएको छ । यहाँ नेपाली भएकोमा भन्दा रासन कार्ड नपाएको पीडाले धेरैलाई चाउरिएको मरिच बनाएको छ । फलस्वरुप जन्म दिने बाउआमा नचिन्ने तर भारतीय टेलिश्रृंखलामा खेल्ने अनुराग बसु विरामी हुँदा ओखती किन्न चन्दा उठाउने पुस्ता जन्माइरहेका छौं । थाहा छैन, यो दिशाहीन गोरेटोले हामीलाई कहाँ लैजाँदैछ ?

त्यसबेलाको दरबारिया परम्परा अनुसार नेपालका राजामहाराजा सबैलाई ‘तिमी’ भन्न सिकाइएको थियो । २०४६ सालको परिवर्तनपछि राजा वीरेन्द्रले नेताहरूलाई यही अभ्यास दोहो¥याए । तर समयले खारेको व्यक्तित्व गणेशमानले राजाको ‘तिमी’ पचाएनन् । तत्काल प्रतिवाद गर्दै भने– ‘सरकारको हजुरबा नै हाम्रो साथी भएपछि परिवर्तित सन्दर्भमा ‘तिमी’ भन्न सुहाउँदैन कि सरकार !’ राजाले तत्काल गल्ती महसूस गरे । बरु बद्लिदो परिस्थितिमा दरबार कसरी चल्नुपर्ने हो, सिकाइदिन आग्रह गरे । घटना क्षणिक हो, तर एउटा नेताको साहसले सम्मानको श्रृंखला सुरु गर्‍यो ।

वास्तवमा ०४६ सालको राजनीतिक परिवर्तनले केही मान्यता बोकेको थियो । त्यसपछि भएका परिवर्तन भनेको राजनीतिक म्यारिज खेल्दा कसैलाई पनि माल नपरेपछि खेलिएको बेटर खेलजस्तै हो । लोकतन्त्र भनेको राज्य प्रणालीका अंगलाई शरीरभित्रका अंगजस्तै स्वचालित रहन दिनु हो । अंग स्वस्थ राख्ने जिम्मेवारी राज्यको हो । यसो भएमा राज्य शासनप्रणालीमा जनताको गुनासो कम हुन्छ । जहाँ गुनासो कम हुन्छ, त्यहाँ रामराज्यको थालनी हुन्छ । हामीले जसलाई लोकतन्त्र, गणतन्त्र, संघीयता भन्यौं, त्यो त ठगी गरेर ल्याएको सवारीको लाइसेन्सभन्दा माथिको भएन । हरेक क्षेत्रमा चुनावलाई लोकतन्त्रको पहिलो शर्त बनाउँदा देशमा आर्थिक असन्तुलन मात्र आएको छैन, सामाजिक अपराध वृद्धि भएका छन् ।

नेपालमा वर्षैभरि कुनै न कुनै चुनाव भइरहन्छन् । यहाँ हुने चुनावको मनोविज्ञान कस्तो हुन्छ भने जित्ने त जित्ने भइगो, हार्ने पनि जित्नेभन्दा कम शक्तिशाली हुँदैन । यहाँ गाँस माग्नुस्, कसैले एक पैसा दिँदैन । जाँड खान्छु भन्नु मात्र पर्छ , पिलाउनेको लाइन । औषधि उपचार नपाएर कोही मर्न लाग्यो भने कसैलाई मतलब हुन्न तर चुनाव लड्ने मनशाय राख्ने वित्तिक्कै देश विदेशमा दाताको ओइरो लाग्छ । राजधानीमा एक लाख खर्च गर्दा ५० जना भेला गराएर एक घण्टे कार्यक्रम धौ धौ हुन्छ तर महाधिवेशनका नाममा देशभरका मानिस जम्मा गरेर नाना, खाना, छानाको प्रबन्ध मिलाउँदा कति खर्च हुन्छ ? अब त झन् जोस भर्ने जल र सेकुवाको सितनबिना भोटको आधारभूत दस्तुर पूरा नहुने अघोषित संस्कार नै बसिसकेको छ । उम्मेद्वार संस्थाका हुन छोडेर व्यक्तिका हुन थालेका छन् । प्रचार सामग्री त्यतिक्कै भड्किला देखिन्छन् । नदेखिने तर वाञ्छनीय यो श्रोत कहाँबाट जुट्छ ?

पसिनाको कमाइ गर्नेलाई भात खान पैसा पुग्दैन भने उसले चन्दाको ‘च’ पनि उच्चारण गर्दैन । यो स्थितिमा त्यो लोकतन्त्रको मजबुत बनाउने चुनाव उतार्ने गहन जिम्मेवारी प्रकृति दोहनको आरोप लागेका क्रसर व्यवसायी, ग्यास सिलिण्डर फुटरिङ गर्ने स्वधर्मी उद्योगी, करमारा व्यापारी, हप्ता दिन पनि पिच नटिक्ने गरी बाटो बनाउने ठेकेदार, जर्तीका नाममा स्वाहा गर्ने सुन व्यापारी अनि यी सवै दृश्य आँखा चिम्लिएर जडभरत झैं बस्ने सरकारी हाकिमले लिएका हुन्छन् ।

भन्सारबाट पास भएर आउने चीज वस्तुको मूल्यांकनले भन्छ– यो देशका नागरिक पार्लेजी बिस्कुटको बच्चा झैं कहिल्यै बढ्दैनन् । नेपाल समृद्धितर्फ नजानुको कारण सबैलाई थाहा हुँदाहुँदै पनि समस्याको निदानतर्फ कसैको रूचि छैन । रारा ताल, कालापत्थरमा गएर मन्त्रिपरिषद्को बैठक गएर देश बन्ने होइन । न हुलासको गाडी चढ्दैमा राज्यको प्रणाली सुध्रिने हो । मन्त्रिपरिषद् बैठकमा चिया र बिस्कुट ख्वाउने, खल्ती नभएको लुगा सिलाएर सुशासन कायम गराउन प्रधानमन्त्रीलाई उचाल्ने जस्ता तोरीलाउने डक्टिन असफल भइसके । देश बनाउने म्यानेजरले त उचित ठाउँमा धेरैभन्दा धेरै खर्च गर्ने, खर्चभन्दा लाखौं गुना बढी कमाउने हो । सरकारी ढुकुटी र कुवाको पानी उस्तै हो, जो सकिएला भनेर चिन्ता गर्नु पर्दैन ।

धनका तीनवटा प्रकृति हुन्छन् । पहिलो भोग, दोस्रो दान, तेस्रो नास । सञ्चित धनको उपयोगिता माहुरीले मह जम्मा गरेजस्तै हो । देश बनाउने असल म्यानेजरले जनतालाई महल र वाहन दिलाउँछ । अनि आफू झुप्रोको बास, एकसरो बस्त्र र टुकीको उज्यालोमा रमाउँछ । राजनीतिलाई जागिर सोच्नेहरूको गतिविधि ठीक उल्टो हुन्छ । जो मानिसलाई आफ्नो कर्म र क्षमतामा विश्वास हुँदैन, उसले अन्ततः विश्वास गर्ने चलखेललाई नै हो । संघीयतामा गएपछि देशमा रोग, भोक र शोकको तापले कसैलाई छुँदैन । नाना, खाना र छाना आफैं बिन्तिपत्र भएर घरघर पुग्छ भनेर नेताहरूले दिएको आश्वासन चुनाव सकिएको भोलिपल्ट एउटा सार्थक कर्म सम्पादन भएको उदाहरण देखिनु भनेको हिमालमा ‘यति’ मानव भेटिनु जतिक्कै हुन्छ । बरु चुनावको म्याण्डेटका नाममा हिजो अस्तिका फुटपाथेहरू आफ्ना माग पूरा नभए मेची महाकाली ठप्पको चेतावनी दिन सिंहदरबार पुग्छन् । तिनलाई स्वागत गर्न माननीय मन्त्रीहरू मूलढोकामै हाजिर हुन्छन् । त्यसैलाई लोकतान्त्रिक अभ्यासको पालना भन्दै मिडियाहरू हप्तौंसम्म देउसुरे गाउँछन् । अनि कसरी बस्छ थिति ?

जनताबाट चुनिएका जनप्रतिनिधिबाट बनेको सरकार त नौ नारी गलेको अवस्थामा छ भने अरु भुरे टाकुरेबाट समाज रुपान्तरणको आस गर्नु हुटिट्याउँले सगर थाम्नुसरह हो । यो लेखनीको उद्देश्य पद्दतिको विरोध नभएर चुनावका नाममा सलहसरि बढेको सामाजिक अपराधप्रति सचेत गराउनु हो । राजनीतिक संगठनको चुनाव राज्यमाराहरूको भरथेगमा सम्पन्न हुन्छ भने आउँदा सयौं वर्षसम्म पनि तिनीहरूकै सपना पूरा गर्नमै शासकहरूले समय खर्चिनुपर्ने छ । अरूका सपना साकार पार्दापार्दै जनताका विपनाले सधैं नर्कको बास बस्नुपर्ने अवस्थाले कहिल्यै मुक्ति पाउने भएन ।

महाभारतमा त्यसै भनिएको होइन– ‘सय कुवाभन्दा एउटा तलाउ असल, सय तलाउभन्दा एउटा यज्ञ असल, सय यज्ञभन्दा एउटा पुत्र असल र सय पुत्रभन्दा एउटा सत्य असल हुन्छ ।’ नेपालको राजनीतिमा धेरै खहरे खोलाहरू बगे । गाउँको वडा सदस्यमा समेत नालायक ठानिएका पात्रहरू सिंहदरबारको चुलो चौकोमा पुगे । मुलुकमा यति धेरै ‘ठूला’ मानिस जन्माइए कि भोट नामको लाइसेन्स लिएर छिरेकाहरू पनि तलवी कर्मचारीमा अनुवाद भए । अम्लेठ पनि खान खोज्ने, अण्डाको पनि माया गर्नेहरूको बिगबिगी बढ्दै गयो । तर सिंहदरबार बनाउने एकलव्य अभियानमा लाग्दा काठमाण्डौ उपत्यका क्षेत्रबाट सुत्केरीको समेत भाग खोसेर कालो दाल सिंहदरबार ल्याउन उर्दी गर्ने चन्द्रशम्शेरको इतिहासले कसैलाई तानेन । सुत्केरीलाई कालो दाल छोडेको भए सिंहदरबार बन्दैनथ्यो । चन्द्रशम्शेरलाई घाँटी घाँटीसम्म थाहा थियो– ‘कालो दाल खाने, सिंहदरबार बनाउने एकैचोटि सम्भव छैन ।’ सम्भवतः सिंहदरबार नबनेको भए अहिलेका शासकहरूले भुटानी शरणार्थीहरूको जस्तो क्याम्प बनाएर शासन चलाउँथे होलान् ।

चन्द्रशम्शेरले जतिसुकै मेहनत गरेर सिंहदरबार बनाएपनि त्यसप्रति न्याय गर्ने क्षमता कमैमा देखियो । सिंहदरबारलाई न नेताले चिने, न नेतालाई सिंहदरवारले चिन्यो । ६ दशकको आधुनिक राजनीतिक इतिहासमा राष्ट्रवादी फगत बीपी कोइराला भए, जसले मन्त्रिपरिषद्को पहिलो बैठकमा आफ्नो तलब एक हजार घटाउने निर्णय गरे । कतिसम्म भने दुई देशबीचको तरुल भनिएको नेपाली भूगोललाई उनले बुझिने भाषामा भनिदिए– ‘नेपाल दुईवटा विशाल हात्तीबीच सुतेको मान्छे हो । ’ ठूला देश भारत र चीनले चेपिनु परेको नेपाली मनोविज्ञानप्रति उनको मौलिक विश्लेषण थियो । बीपीले ‘मानिस ब्रेडले हैन ब्रेनले बाँच्छ’ भन्ने शाश्वत सत्य मात्र सिकाएनन्, राष्ट्रियता भूगोल नभएर जनताको मन हो भनेर नेपाली समाजलाई पढाए ।

राणाहरूको चाकरीभित्रबाट जन्मिएको सरकारी सेवामा थुप्रै आए, गए । तर मुख्यसचिव कृष्णबहादुर मानन्धर यति इमान्दार थिए, जो चाणक्य नीतिमा विश्वास गर्थे । प्रहरीमा बर्दीधारी त धेरै आए तर खड्गजीत बरालजस्तो भातको सिता र घरको भित्ताले चिनेको व्यक्तित्व दोहोरिएन् ।

पछिल्लो समय सिंहदरबार भिजनभन्दा सिजनको अखडा बन्यो । भीडका नाइकेहरू धमाधम नेता भए । नाइकेहरूका हुक्के, ढोके, चम्चे, नन्दी, भृंगीहरूको सत्तामा दाउ लाग्यो । गाउँ र जनताको नाममा रत्यौली मच्चाउने कामले तीब्रता पायो । राज्य कुपोषण लागेको त्यो गौमाता जस्तो भयो, जसलाई घाँस, कुँडो ख्वाउन कोही अघि नसर्ने लाम्टा चुस्न सबै तँछाड मछाड गर्ने । अहिले यही प्रवृत्ति हाबी भएर एउटा ठाडो निवेदन बोकेर राज्यकोषमा धावा बोल्नेहरू रातारात बढेका छन् । यो शैली विकासप्रतिको स्नेह नभएर छ्याकन मार्ने दलाली दाउ हो ।

विकासको बजेट काटेर तलब ख्वाउनु अबका सरकारको बाध्यता बन्ने निश्चित छ । व्यापार घाटाको खाडल बढेपनि राजनीतिक व्यापार सतप्रतिशत फस्टाएपछि नेताहरू तैं चुप मै चुप भएका छन् । जनताले सुलभ उपचार नपाएर के भो ? नेतालाई एयर एम्बुलेन्स आएकै छ । कछाड लाउनेको छोरो डाक्टर बनाउने लोकतन्त्र आएकै होइन, नेताका छोराछोरीले छात्रवृत्ति पाएकै छन् । आफ्नो जन्म कहिले हो भन्ने भेउ नपाएकाहरू अहिले जन्म दिनमा उपहार पाउने भएका छन् । हुँदा हुँदा बिहेको पत्तो नभएकाहरू एनिभर्सरीका पात्रमा अनुवाद भएका छन् । राष्ट्रियता परिवारवादमा सीमित भएको छ । हुनपनि त हो, रामायण पढेका हामीले राम र लक्ष्मणको भातृ प्रेमलाई सधैं शीरमा राख्यौं । तर विज्ञापनको बशिभूत भएर अर्का दाजुभाइ जटायु र सम्पातिको निस्वार्थ अगाध प्रेम र इमान्दारीको कदर गर्न सकेनौं । नल र निलले गंगानदीमा ढुंगाको पुल बनाएर रामलाई विजयी बनाए । दुर्भाग्य यी आध्यात्मिक इन्जिनीयरलाई कसैले सम्झिएन् ।

sanketkoirala07@gmail.com

यो पनि पढ्नुहोस्-

इन्डियाभन्दा ठूलो आइडिया

shares