सातवटा विश्व सम्पदास्थल पुग्ने गरी साइकल यात्रा गरिने

काठमाण्डौ, ४ बैशाख । टुर डे लुम्बिनीको आयोजना आगामी बैशाख ८ गते काठमाडौं उपत्यकाका सातवटा विश्व सम्पदा स्थल पुग्ने गरी साइकल यात्रा गरिने भएको छ ।

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार काष्ठमण्डप परिसर वसन्तपुर डबलीबाट सुरु भएर स्वयम्भू, पशुपतिनाथ, बौद्ध, चाँगु नारायण, भक्तपुर दरबार स्क्वायर हुँदै पाटन दरबार स्क्वायरमा पुगेर साइकल यात्रा पूरा हुनेछ ।

विश्व सम्पदा सूचीमा रहेका पौराणिक, पुरातात्विक, सांस्कृतिक महत्त्वका सम्पदाप्रति चेतना जगाउने उद्देश्यले साइकल यात्रा आयोजना गरिएको टुर डे लुम्विनीका उपाध्यक्ष मेघ आलेले जानकारी दिए । कार्यक्रममा पाचँ सय साइकल यात्री सहभागी हुने पनि जानकारी दिइएको थियो ।

त्यस्तै बैंशाख १४ गते काठमाडौदेखि लुम्विनीसम्म चार दिने साईकल र्याली हुने आयोजकले जनाएको छ । टुर डे लुम्विनीका उपाध्यक्ष आलेले उपत्यकालाई साईकल सिटी बनाउन साईकल लेनको मागसहितको अभियान पनि सुरु हुने बताए ।

सद्भावका लागि सम्पदा साइकलमा नेपाली र विदेशी साइकल आरोहीका साथै स्वयंसेवक, चिकित्सक तथा साइकल मेकानिक्स पनि सहभागी हुने आयोजकले जनाएको छ ।