‘कुल ग्राह्स्थ उत्पादनमा कम्तिमा २५ प्रतिशत योगदान पर्यटनको हुनुपर्छ’- पर्यटनमन्त्री

काठमाण्डौ, ४ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकको कुल ग्राह्स्थ उत्पादनमा कम्तिमा २५ प्रतिशत योगदान हुने गरी पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् ।

पर्यटन क्षेत्रका सरोकारवालाहरूसंग मंगलबार सिंहदरबारमा छलफल गर्दै उनले मुलकमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ८ प्रतिशत मात्र देखिएको भन्दै पर्यटनका बारेमा निकै बहस भएपनि सोचे अनुरुपको पर्यटक भित्र्याउन सफल हुन नसकेको बताए ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रका योजना कार्यान्वयन नहुँदा नेपालको पर्यटन क्षेत्रले प्रगति गर्न नसकेको भन्दै सन् २०२० सम्म नेपाललाई पर्यटकीय हब बनाउन अघि बढ्नुपर्ने धारणा राखे ।

अहिले विमानस्थलमा लामो समय विमानहरू होल्ड बस्नुपर्ने बाध्यता रहेको भन्दै उनले नजिकका आन्तरिक गन्तव्य स्थानमा सडक यातायातलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले अब २१ घण्टा विमानस्थल सञ्चालन गरिने भन्दै रातीको समयमा अन्तराष्ट्रिय विमानलाई प्राथमिकतामा राख्ने जिकिर गरे ।

मन्त्री अधिकारीले नेपालका आन्तरिक उडानको रात्रीकालिन सेवा धनगढीबाट सुरु भइसकेको उल्लेख गर्दै अन्य स्थानमा पनि रात्री उडान भर्ने योजना रहेको बताए । कार्यक्रममा सरोकारवालाहरूले पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालयले ठोस योजना अघि सार्नुपर्ने र त्यसैका आधारमा कार्यक्रम तर्जुमा गर्नुपर्ने बताएका थिए ।