फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बनमा पर्ने व्यवस्था गर्ने तयारी

काठमाण्डौ, ४ बैशाख । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा कुनै पनि सांसदलाई मुद्दा लागेमा स्वतः निलम्बन हुने व्यवस्था गर्ने तयारी गरेकोे छ ।

समितिका संयोजक कृष्णभक्त पोखरेलले नयाँ व्यवस्थासहित नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले कुनै सांसद पदमुक्त भएमा उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गराएर संसद पदपूर्ति गर्ने व्यवस्था गर्ने तयारी रहेको पनि जानकारी दिए ।

विगतमा मुद्दा लागिसकेर जेलमै रहेपनि सांसद पद रहिरहने व्यवस्था भएपनि अबका दिनमा मुद्दा सम्बन्धमा अन्तिम फैसला नभएसम्म निलम्बन हुने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । संयोजक पोखरेलले महिनाको दुईपटक प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गर्न लागिएको जानकारी पनि दिए ।

प्रधानमन्त्रीले मात्र नभै सांसदले विशेष र शून्य समयमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने व्यवस्था पनि नियमावलीमा राख्न लागिएको उनको भनाइ छ । पोखरेलले १० वटा संसदीय समिति बनाउने प्रस्ताव गर्न लागिएको जानकारी पनि दिए ।

पोखरेलले अब बस्ने संसद बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदन पेश गरिने भन्दै प्रतिवेदन संसदमा पेश गर्नुअघि सबै दलका सचेतकसँग छलफल गरिने बताए । साक्षात्कारमा समितिका सदस्य तथा कांग्रेस नेता मिन विश्वकर्माले पनि नियमावली निर्माणका क्रममा धेरै विवाद नभएको भन्दै छिटै प्रतिवेदन संसदमा पुग्ने दाबी गरे ।