Breaking News

एकता संयाेजन समितिको बैठक बालुवाटारमा बस्दै

काठमाण्डौ, ४ बैशाख । सत्तारुढ एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

वैशाख ९ गते पार्टी एकताको घोषणालाई अन्तिम रूप दिन बैठक बसेको प्रधानमन्त्री केपी शर्मा अोलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । बैठकमा एकताका लागि मिल्न नसकेका विवादका विषयहरू टुंगो लगाइने जनाइएको छ ।

जनयुद्ध र एकता अनुपात लगायतका विषयमा कुरा मिल्न नसकेका कारण लामो समयदेखि एकता प्रक्रिया रोकिएको छ । सोमबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकतालाई टुंगोमा पुर्‍याउन दुई घण्टा लामो छलफल भएको थियो ।

केही समयदेखिको संवादहीनताको बीचमा एकता संयोजन समितिको बैठक हुन लागेकाले आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ । बैठकले जनयुद्ध, एकता अनुपात र चुनाव चिह्नबारेको मतान्तरलाई सल्ट्याउने अपेक्षा गरिएको छ ।

एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य रहेका छन्।

shares