सरकारी शिक्षकहरूलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न प्रचण्डको निर्देशन

काठमाण्डौ, ३ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले शिक्षा क्षेत्रको विकासका लागि नितिगत सुधारको खाँचो रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शिक्षा क्षेत्रका नितिगत विषयलाई समयानुकूल परिमार्जन गरे मात्र शिक्षा क्षेत्रको विकास हुने धारणा राखे । उनले सामुदायिक विद्यालयका शिक्षकहरूलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न निर्देशन दिए ।

सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि सबैले प्रतिबद्धता गर्नुपर्ने जनाए । उनले निजी विद्यालयहरूका सम्बन्धमा शुल्क घटाउन दबाब सिर्जना गर्नुपर्ने भन्दै अहिले निषेध नै गरेर जान नहुने विचार व्यक्त गरे ।

कार्यक्रममा संगठनले सरकारले अघि सारेको विद्यार्थी भर्ना र पुस्तक अभियानलाई सहयोग गर्दै सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्न लागि पर्ने जनाएका थिए ।