प्रदेश र केन्द्रको ध्यान ऐन कानून निर्माणमा हुनुपर्छ: सभामुख महरा

काठमाण्डौ, ३ बैशाख । सभामुख कृष्णबहादुर महराले राज्यलाई सही दिशा दिन कानून निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि आयोजना गरेको सम्मेलनलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उनले प्रदेश र केन्द्रको ध्यान ऐन कानून निर्माणमा हुनुपर्ने बताएका हुन् । उनले प्रदेशमा ऐनको अभाव भएको भन्दै गुनासो आइरहेको भन्दै ऐन कानून निर्माणमा प्रदेश सरकार नै अग्रसर हुनुपर्ने बताए ।

सभामुख महराले लामो आन्दोलनपछि मुलुकमा प्राप्त उपलव्धीलाई संस्थागत गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा समेत बताए । अहिले पनि सूचना लुकाउने प्रचलन रहेको भन्दै उनले सूचनामाथि सबैको अधिकार स्थापित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले राष्ट्रिय सूचना आयोगलाई संवैधानिक मान्यता दिन आग्रह गरे । दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका सूचना अधिकारी सहभागी छन् ।