दलित समुदायको आन्दोलन र मुक्तिको समीक्षा हुनुपर्ने

काठमाण्डौ, ३ बैशाख । दलित समुदायको आन्दोलन र मुक्तिलाई स्पष्ट गरेर अगाडि बढ्न आवश्यक रहेको दलित मुक्ति मोर्चा नेपालले जनाएको छ ।

सोमबार दलित आन्दोलनका विषयमा अन्तर्क्रियात्मक कार्यक्रम गर्दै मोर्चाले समाजमा दलित समुदायको अवस्था, संविधानमा दलितको अधिकार लगाएतका विषयमा गर्दै आएको आन्दोलनको पनि समीक्षा हुनुपर्ने जनाएको छ ।

दलितलाई सधै भोटरको रूपमा लिने गरेको र समस्या भने सम्बोधन हुन नसकेको मोर्चाको भनाइ छ । कार्यक्रममा मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले मुलुकभरका दलित समूदायहरू एक भएर दलित समुदायको आन्दोलनलाई अघि बढाउनुको विकल्प नभएको बताए । उनले अन्य उत्पीडित, जाति जनजाति र समुदायसँगको छलफल, सहकार्य र मोर्चावन्दीलाई व्यवस्थित गर्नुपर्ने उल्लेख गरे ।

मोर्चाले अन्तराष्ट्रियस्तर विशेषगरी दक्षिण एशियास्तरको साझा दलित मञ्चको खाका कोरी अघि बढ्नुपर्नेमा पनि जोड दिएको छ ।