वर्षभरि सुरक्षित मातृत्व विशेष अभियान चलाइने

काठमाण्डौ, ३ बैशाख । सरकारले २०७५ सालभरि सुरक्षित मातृत्व विशेष अभियान चलाउने भएको छ ।

सुरक्षित मातृत्व दिवसका अवसरमा त्रिवि शिक्षण अस्पतालमा सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अभियान सुरु भएको घोषणा गरिन् । अभियान अन्तर्गत पहिलो चरणमा वैशाखदेखि असारसम्म सबै अस्पतालहरूबाट पाठेघरको मुख र स्तन क्यान्सर परीक्षण हुनेछ । फिस्टुला र क्यान्सर भएर नभएको निःशुल्क परीक्षण गरिनेछ ।

यस्तै साउनदेखि असोजसम्म सबै पालिकामा एक सुरक्षित मातृत्व कोषको स्थापना गर्ने लक्ष्य लिइएको छ । ‘एक पालिका एक सुरक्षित मातृत्व कोष अभियान देशव्यापी बनाइने भन्दै राज्यमन्त्री अर्यालले यो कोष आकस्मिक प्रसुति सेवामा उपयोग हुन बताइन् ।

अभियान अन्तर्गत कात्तिकदेखि पुससम्म सुरक्षित मातृत्व सम्बन्धी किशोर–किशोरी अवस्थादेखि नै जनचेतना फैलाउने उद्धेश्य सहित देशव्यापी रुपमा निबन्ध र वक्तृत्वकला सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । अभियानलाई शिक्षासँगै किशोरी तथा महिलाको क्षमता अभिवृद्धिसँग पनि जोडिने मन्त्री अर्यालले जानकारी दिइन् ।

कार्यक्रममा शिक्षण अस्पतालमा महराजगञ्जमा भर्खरै आमा बनेका ५ जनालाई सम्मान गरिएको छ । राज्यमन्त्री अर्यालले भर्खरै बच्चा जन्माएर अस्पतालमा उपचाररत अनित श्रेष्ठ, कौशिला दनुवार, विमला थापा, कल्पना न्यौपाने र जानकी पौडेललाई दोसल्ला ओढाएर सम्मान गरेकी हुन् ।