आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी

काठमाण्डौ, ३ बैशाख । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी, वैशाख कृष्ण औँशीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ ।

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । यस दिन दिवंगत आमाको सम्झनामा काठमाडौंको थानकोट मातातीर्थमा मेला लाग्ने गर्दछ । मातातीर्थ कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर पवित्र मनका साथ तर्पण दिएपछि र पोखरीमा हेरेमा जन्म दिने माताको स्वरूपको दर्शन पाइने जनविश्वास छ ।

उक्त कुण्डमा वैशाख कृष्ण औँसीका दिन एक जना ग्वालाले प्यास लागेर पानी खान जाँदा दिवंगत भएकी आफ्नो माताको स्वरुप देखेको किंवदन्ती पाइन्छ । स्वस्थानी कथामा यो कुण्डमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको प्रसंग पाइन्छ । हिन्दू धर्मावलम्बीले जन्म दिने आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन मान्यता तथा विश्वासका साथ सो तीर्थस्थलमा मेला भर्न आउने गर्दछन् । विशेषगरी आमा दिवंगत भएका भक्तजन आउने उक्त तीर्थस्थलमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको सहभागिता बढेको छ ।