Breaking News

आगलागी हुदाँ ४ वटा होटेल जलेर नष्ट

प्रविण टिबडेवाल/रौतहट, २ बैशाख । रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका अन्तर्गत वडा नम्बर १ मा आज दिउँसो आगलागी हुदाँ ४ वटा होटेल जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

वडा नम्बर १ स्थित रामजानकी धर्मशालासंगै रहेको सन्तलाल जयसवालको होटलबाट सल्केको आगोको चपेटामा परी टाँसिएर रहेको सुधा देवी, राजेन्द्र दास र आकास महतोको होटेलसमेत खरानी बनेको छ ।

चर्को धाम र तेज हावाका कारण आगो नियन्त्रण गर्ने प्रयास भइरहँदा पनि आगोले भयावह रूप लिई जोडिएर रहेको ४ वटै पसललाई पूर्ण रूपमा नष्ट बनाएको छ । आगलागी भएको केहीबेर मै घटनास्थल पुगेको गौर नगरपालिकाको बारुण यन्त्र, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा करिब २ घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट पसलमा रहेको फ्रिज, फर्निचर, भाँडाकुडा, खाद्यान सामग्रीलगायत नगद पैसासमेत नष्ट भएको तथा १० लाख बराबरको क्षति पुगेको सो वडाका वडा अध्यक्ष भरत साहले जानकारी दिएका छन् । आगलागीको कारणबारे यकिन हुन नसके पनि चुरोटको ठुटोबाट आगो सल्केको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

shares