Breaking News

राष्ट्र सङ्घीय सुरक्षा परिषद्‌ बैठकमा रुसको पक्षमा समर्थन जुटेन

काठमाण्डौ, २ बैशाख । सिरियाविरुद्ध अमेरिका, बेलायत र फ्रान्सको मिसाइल आक्रमणको भर्त्सनाका लागि समर्थन जुटाउन गरेको रुसको प्रयास असफल भएको छ ।

पश्चिमा शक्तिहरूले सिरियाविरुद्ध गरेका क्षेप्यास्त्र हमलाबारे छलफल गर्न रुसको आग्रहमा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्‌मा आपत्कालीन बैठक बसेकोमा रूस समर्थन जुटाउन रुस विफल भएको हो । सिरियामा रसायनिक आक्रमणको जाँच चलिरहेको बेला तीन राष्ट्रले सिरियाको सरकारी अखडामा गरेको आक्रमण अन्तराष्ट्रिय कानुनको घोर उल्लंघन भएको रुसको ठहर छ ।

अमेरिकाले भने सिरियामा रसायनिक हतियार प्रयोग रोक्न सिरियामाथि फेरि आक्रमण गर्न तयार रहेको बताएको छ । राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले सिरियाका राष्ट्रपति बसर अल असदलाई अब कुनै पनि हालतमा सिरियामा रसायनिक हतियार प्रयोग गर्ने अधिकार नभएको भन्दै यसमा रोक लगाइने जनाएकी छिन् ।

सोही बैठकमा सिरियाली राजदूत बसर जाफरीले अमेरिका, बेलायत र फ्रान्सले अन्तर्राष्ट्रिय मापदण्ड विपरित आफनो देशमा आक्रमण गरेको भन्दै आपत्ति जनाए । यसअघि, अमेरिका, बेलायत र फ्रान्सले सिरियाको राजधानी दमस्कसमा हवाई आक्रमण गरेको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा गरिएको हमलालाई लक्षित गर्दै त्यहाँ “उद्देश्य पूरा” भएको सन्देश ट्विटरमा लेखेका थिए । एजेन्सी

shares