Breaking News

बिस्केट जात्राको लिङ्गो ढालियो

भक्तपुर, १ बैशाख । बिस्केट जात्राको पाँचौ दिन आज ५५ हाते लामो लिङ्गो ढालिएको छ ।

हिजो साँझ साढे ६ बजे भेलुखेलस्थित ल्योसिङखेलमा उठाइएको लिङ्गो आज तान्त्रिक विधिअनुरूप पुजाअर्चना गरी लिङ्गो ढालिएको हो ।

लिङ्गो ठड्याउनुअघि लिङ्गोको टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ ।

त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको हो । लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो ।

मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।

लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाईएको छ । राति दुमाजु देवीको जात्रा समेत हुन्छ । लिङगो ंउभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो ।

पुरानो वर्षको बिदाईमा लिङ्गो उभ्याउने र नयाँ वर्षको पूर्व सन्ध्यामा लिङ्गो ढाल्ने प्रचलन रहेको छ । भोलि जात्राको छैठौं दिन मध्यपुर थिमीमा बिहान सिन्दुर जात्रा र दिउँसो जिभ्रो छेड्ने जात्रा हुन्छ ।

shares