भ्रष्टाचार नियन्त्रण गर्नु अहिलेको चुनौती: ट्रान्सपरेन्सी इन्टरनेशनल

काठमाण्डौ, ३० चैत्र । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मुलुकमा राजनीतिक स्थीरतासंगै भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने जनाएको छ ।

भ्रष्टाचार विरुद्धको अभियानको व्यापकतासम्बन्धी विषयमा शुक्रबार काठमाण्डौमा छलफल कार्यक्रमको आयोजना गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मुलुकमा जरा गाढेको भ्रष्टाचारलाई नियन्त्रण गर्नु अहिलेको चूनौती रहेको जनाएको हो । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले भ्रष्टाचार नियन्त्रणका लागी सरकारले विशेष तदारुकता देखाउँदै मातहतका निकायलाई चुस्त दुरुस्त राख्नुपर्ने बताए ।

उनले दुईतिहाई समर्थन रहेको सरकारले भ्रष्टाचार नियन्त्रणका लागि बलिया संयन्त्रको निर्माण गर्ने विश्वास समेत व्यक्त गरे । राष्ट्रसेवक कर्मचारीको ध्यान राष्ट्रको सेवामा मात्र केन्द्रित हुनुपर्ने भन्दै यसमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । त्यस्तै उनले न्यायलयमा देखिएको भ्रष्टाचारको अंशलाई पनि मेट्न सरकार लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा समृद्धिको आधार, आर्थिक सदाचार र भ्रष्टाचार विरुद्ध युवा तथा महिलाहरूको सक्रियता र सदाचार शिक्षा: आजको आवश्यकता विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो भने ‘सत्ता र सदाचार: विविध आयम’ नामक पुस्तकको लोकार्पण गरिएको थियो ।