नेपाल कमर्स क्याम्पसलार्इ त्रिवि उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगिताको उपाधि

काठमाण्डौ, ३० चैत्र । त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगिताको उपाधि नेपाल कमर्स क्याम्पस (एनसीसी)ले हात पारेको छ ।

रत्न राज्यलक्ष्मी कलेजको कोर्टमा शुक्रबार भएको फाइनलमा आयोजक रत्न राज्यलक्ष्मी (आरआर) लाई हराउँदै एनसीसीले उपाधि हात पारेको हो । जितसंगै एनसिसिले ५० हजारसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आरआरले ३० हजार प्राप्त गरेको छ ।

तेश्रो हुने अस्कल क्याम्पसले २० हजार रूपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा सुर्खेत शिक्षा क्यामसका ललित बिक उत्कृष्ट खेलाडी घोषित भए । उनले ५ हजार रूपैयाँ प्राप्त गरे ।

नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा मुलुकभरका २२ वटा टिमको सहभागिता रहेको थियो । आरआर क्याम्पसले १० वर्षपछि उपकुलपति राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।