Breaking News

सुन तस्करीको आरोपमा पक्राउ परेका एक अभियुक्तद्वारा प्रहरी हिरासतमै आत्महत्या

काठमाण्डौ, ३० चैत्र । विमानस्थलबाट सुन तस्करीको आरोपमा पक्राउ परेका नेपाल वायु सेवा निगमका कर्मचारी प्रेमलाल  चौधरीले प्रहरी कार्यालयमै आत्महत्या गरेका छन् ।

महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमा रहेका बर्दियाकाे राजापुर नगरपालिका-७ का प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् । वृत्तको शौचालयमा बिहान ५ बजे झुन्डिएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धानको अनुसन्धान गर्ने क्रममा विमानस्थलबाटै सो सुन तस्करी भएको खुलेको थियो । थाई एयरलाइन्स र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा लामो समयदेखि सुन तस्करी हुँदै आएको खुलेको छ ।

प्रहरीले थाईका ८ तथा नेपाल एयरलाइन्सका तीन कर्मचारीलाई पक्राउ गरिसकेको छ । घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म १९ जना पक्राउ परिसकेका छन् । घटनामा प्रहरीकै उच्च अधिकारीहरूको समेत संलग्नता रहेको हुन सक्ने अनुसन्धान समितिले आशंका गरेको छ ।

चौधरीको मृत्युको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

shares