पुलिसलाई हराउँदै राष्ट्रिय जागृति पाँचौ अन्तराष्ट्रिय आमन्त्रित रवि गोल्डकपको फाइनलमा

उत्तम रिजाल/पाँचथर, २९ चैत्र । । नेपाल पुलिस क्लबलाई पराजित गर्दै राष्ट्रिय जागृति सुनसरी पाँचथरको रविमा जारी पाँचौ अन्तराष्ट्रिय आमन्त्रित मिक्लाजुङ्ग रवि गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

राष्ट्रिय जागृति सुनसरीले आज सम्पन्न खेलमा प्रदेश एकको पुलिस क्लबलार्ई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । विजयी टिमका लागि जर्सी नम्बर ११ का दिपेन तामाङ्गले गोल गरे । उनले दोश्रो हाफको २८ औं मिनेटमा दर्शनिय गोल गरेका थिए ।

खेलमा दुबै टिमले दर्जनौ अवसर पाएपनि अन्य अवसरलाई भने सदुपयोग गर्न सकेनन् । पहिलो हाफको १७ औं मिनेटमा पुलिसका जर्सी नम्बर ३ का दिलबहादुर तामाङ्गको सशक्त प्रहार क्रस बारमा लागेर विफल भएको थियो । त्यसपछि पनि पुलिसले राष्ट्रिय जागृतिमाथि पहिलो हाफमा दबाब कायम गरेपनि गोल गर्न पटक पटक चुकेको थियो ।

उसका उज्वल राई, बुद्धबल तामाङ्ग, दिपेन राई तथा जयनारायण चौधरीले आफूले पाएका अवसर खेर फालेका थिए । त्यस्तै राष्ट्रिय जागृतिका समिर राई, तिर्थ बस्नेत र अमर मगरले पनि पटक पटकको अवसरलाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा केही कम्जोर देखिएको राष्ट्रिय जागृतिले दोश्रो हाफमा भने उत्कृष्ट पुनरागन जनाएको थियो ।

खेलमा पुलिसका जर्सी नम्बर ३ का दिल बहादुर तामाङ्ग र जर्सी नम्बर ९ का दिपेन राईले तथा राष्ट्रिय जागृतिका जर्सी नम्बर २ का कप्तान रमेश राजबंशी र जर्सी नम्बर ७ का समिर राईले पहेलो कार्ड पाएका थिए । खेलको म्यान अफ दि म्याच पराजित टिमका जर्सी नम्बर १० का उज्वल राई घोषित भए ।

राष्ट्रिय जागृतिले अब उपाधिका डिफेण्डिङ्गच्याम्पियन बिबिएफसी झापासँग प्रतिस्पर्धा गर्नेछ । बिबिएफसी मोरङ्ग युनाइटेडलार्र्ई ४–१ ले पखा लगाउँदै यस अघि नै फाइन प्रवेश गरिसकेको छ । फाइन खेल बैसाख १ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद दुई लाख तथा उप–विजेताले एक लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको आयोजना राइजिङ्ग स्टार स्पोर्टिङ्ग क्लबले गरेको हो ।